प्रहरी हिरासतमा रास्वपाको विशेष छलफल, दुई उपसभापतिलाई सभापति लामिछानेले के भने ?
पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुई उपसभापतिसँग छलफल गरेका छन् ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेसँगको भेटका लागि दुई उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेसहित कार्यवाहक प्रवक्ता मनिष झा हिरासतमा पुगेका थिए ।
सोमबार भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सरकारले राजनीतिक प्रतिशोध साँधेर हिरासतमा राखेको बताएको उपसभापति अर्यालले बताए ।
लामिछानेले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन दुई उपसभापतिलाई आग्रह गरेको उपसभापति अर्यालले जानकारी दिए ।
आफूहरुले न्यायिक प्रक्रियामा आपत्ति र बिरोध नजनाएको अर्का उपभापति वाग्लेले बताए ।
‘राजनीतिक प्रतिशोध साँध्नकका लागि अनावश्यक रुपमा हिरासतमा राखिएको हो हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं,’ उनले भने ।
रास्वपाले आन्दोलनको स्वरुपबारे पर्सी थप व्याख्या गर्ने झाले बताए ।