श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाहिने
काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले यात्रा एनओसी सम्बन्धी संशोधित सूचना सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।
नेपालका नागरिकले भारतको विमानस्थल प्रयोग गरेर अन्य देशमा यात्रा गर्दा ‘यात्रा अनुमतिपत्र’ प्राप्त गर्नुपर्ने प्रावधानलाई थप स्पष्ट पार्दै दूतावासले संशोधित नियम लागू गरेको जनाएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।
त्यसैगरी, नेपाली कूटनीतिक/आधिकारिक/सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज-पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने दूतावासले जनाएको छ ।
अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने छैन ।
साथै, रूसका लागि समेत एनओसी आवश्यक भएको तर रूस सरकारद्वारा प्रदान गरिएको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी र व्यापार भिसा लिने व्यक्तिले भने एनओसी लिनुपर्ने प्रावधान नरहेको सूचनामा जनाइएको छ ।
विदेश यात्रा गर्ने नेपालीहरूले नेपाल सरकारको कन्सुलर सेवा विभाग वा दिल्लीस्थित नेपाली दूतावासबाट एनओसी लिनसक्छन्।
एनओसी लिने नेपाली नागरिकले भारतीय १ हजार रुपैयाँ बुझाउनु पर्नेछ । दूतावासले जारी गरेको बैंक खाता अथवा भीम युपीआईको एपमार्फत पनि शुल्क बुझाउन सकिने दूतावासले जनाएको छ ।