ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्छ: माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नैं कारणले ढल्ने दाबी गरेको छ ।

सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने दाबी गरे । उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीहरुलाई हटाउने खेल भइरहेको आरोप लगाए ।

देशमा असाधारण परिस्थिति बन्दै गएको भन्दै उनले त्यसको सामना गर्न सबै पार्टीहरुको बीचमा एकरुपता र समझदारी हुन जरुरी रहेको बताए ।

सरकार राजनीतिक दलहरु फुटाउने चलखेलमा लागिरहेको माओवादीको आरोप छ। संविधान संशोधन अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने उनले बताए ।

राष्ट्रियताको सवाल झनझन पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आर्दश कुल्चिने कुचेष्टा भइरहेको सापकोटाले आरोप लगाए ।

प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशा निर्देश गर्न जरुरी रहेको बताए ।


क्लिकमान्डु