क्लिनिकको ट्वाइलेटमा बच्चा जन्माएर फरार महिला पक्राउ, श्रीमान् वैदेशिक रोजगारीमा
झापा । क्लिनिकको शौचालयमा शिशु जन्माएर फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको हल्दिवारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए।
सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको प्रहरीले जनाएको छ । उनी बिर्तामोड –१० को भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भइ नसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको जनाएको छ ।
पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कारबाही अघि बढाउने प्रहरीको भनाइ छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ ।
शनिबार दिउँसो २:३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो ।
ती महिला पेट दुखेर अस्पतालमा आएको र शौचालयभित्र शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ ।
उनका श्रीमान वैदेशिक रोजगारीमा रहेको पाइएको प्रहरीको भनाइ छ ।
उनको पहिचान भने प्रहरीले गोप्य राखेको छ ।