मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौं ल्यायो (तस्बिरहरु)
काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।
आइतबार विराटनगरबाट पक्राउ परेका अधिकारीलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको हो । मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उनलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो ।
जापान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसलाई जापान लिएर गएको आरोप उनीमाथि छ ।
अनुमति नलिइ जापान पुगेका उनीसँगै ३ जना जापान पुगेका थिए । जापान पुगेका मन्त्रीसहितका उनीहरुलाई अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो ।
फिर्ता भएका उनीहरुलाई काठमाडौं उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो भने मन्त्रीलाई उन्मुक्ति दिएको थियो ।
जापान जानका लागि उनीहरुले मोटो रकम बुझाएको बयान दिएका थिए ।
कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ ।
नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख बुझाएको प्रहरीको आरोप छ ।
आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन उनी सरकारको अनुमति नलिइ पुगेका थिए ।