मानव तस्करीको आरोपमा पूर्वमन्त्री अधिकारी पक्राउ (तस्बिरहरु)



विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरस्थित निवासबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको थयो ।

उनलाई विमानबाट काठमाडौं ल्याइने तयारी गरिएको छ ।

मोरङ प्रहरीका एसपी नाराणप्रसाद चिमोरियाले काठमाडौं जिल्ला अदालतलको पक्राउ पुर्जीको आधारमा अधिकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

अनुमति नलिइ जापान पुगेका उनीसँगै ३ जना जापान पुगेका थिए । जापान पुगेका मन्त्रीसहितका उनीहरुलाई अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो ।

फिर्ता भएका उनीहरुलाई काठमाडौं उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो भने मन्त्रीलाई उन्मुक्ति दिएको थियो ।

जापान जानका लागि उनीहरुले मोटो रकम बुझाएको बयान दिएका थिए ।

कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएको प्रहरीले जनाएको छ । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख बुझाएको प्रहरीको आरोप छ ।

आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन उनी सरकारको अनुमति नलिइ पुगेका थिए ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै बिरोध भएपछि उनले पदबाट राजीनामा दिएका थिए । आलोचनाकाबीच शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।


क्लिकमान्डु