म पक्राउ परेको छैन, घरमा बसिरहेको छु, काठमाडौं जाँदै छु: पूर्वमन्त्री अधिकारी
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले आफू निवासमै रहेको बताएका छन् ।
कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले दाबी गरिरहँदा क्लिकमान्डुको सम्पर्कमा आएका पूर्वमन्त्री अधिकारीले आफू घरमै रहेको र काठमाडौं जाने तयारीमा रहेको बताए ।
‘म अहिले घरमै छु । समाचारहरुमा पक्राउ परेँ भनेर आइरहेको देखेँ’ अधिकारीले क्लिकमान्डुसँग भने, ‘पक्राउ पुर्जी जारी भएको सुनेको छु पाएको छैन ।’
अधिकारीले आफू १:५० मा काठमाडौं उड्ने तयारीमा रहेको बताए ।
‘म कहाँ भाग्य छ र, म कहीँ गएको छैन । म आफैं अनुसन्धानमा सहयोग गर्न सबुत प्रमाणसहित जाँदै छु,’ मैले अपराध गरेको रहेछ भने त कहाँ उन्मुक्ति पाउने छैन ।’
तर कोशी प्रहरी स्रोतले भने अधिकारीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।
आफूलाई विश्वासपात्रले फसाएको भन्दै अधिकारीले प्रहरी अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताए ।
अनुमति नलिइ जापान पुगेका उनीसँगै ३ जना जापान पुगेका थिए । जापान पुगेका मन्त्रीसहितका उनीहरुलाई अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो ।
फिर्ता भएका उनीहरुलाई काठमाडौं उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो भने मन्त्रीलाई उन्मुक्ति दिएको थियो ।
जापान जानका लागि उनीहरुले मोटो रकम बुझाएको बयान दिएका थिए ।
आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन उनी सरकारको अनुमति नलिइ पुगेका थिए ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै बिरोध भएपछि उनले पदबाट राजीनामा दिएका थिए । आलोचनाकाबीच शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।