मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी पक्राउ, काठमाडौं ल्याइँदै
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।
कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका हुन् ।
अधिकारीलाई निवासबाटै पक्राउ गरिएको कोशी प्रदेश प्रहरी स्रोतको भनाइ छ।
उनलाई विमानबाट काठमाडौं ल्याइने तयारी गरिएको छ ।
अनुमति नलिइ जापान पुगेका उनीसँगै ३ जना जापान पुगेका थिए । जापान पुगेका मन्त्रीसहितका उनीहरुलाई अध्यागमन कार्यालयले फिर्ता पठाइदिएको थियो ।
फिर्ता भएका उनीहरुलाई काठमाडौं उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो भने मन्त्रीलाई उन्मुक्ति दिएको थियो ।
जापान जानका लागि उनीहरुले मोटो रकम बुझाएको बयान दिएका थिए ।
आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन उनी सरकारको अनुमति नलिइ पुगेका थिए ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै बिरोध भएपछि उनले पदबाट राजीनामा दिएका थिए । आलोचनाकाबीच शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।