भैरहवा विमानस्थलबाट १६८ यात्रु बोकेर कुवेत उड्यो जजिरा एयरवेज



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले शनिबार एक बालकसहित १ सय ६८ यात्रु बोकेर कुवेत प्रस्थान गरेको छ ।

जजिरा एयरवेजले पनि उक्त विमानस्थलबाट कुवेत भैरहवा सिधा व्यवसायिक उडान सुरु गरेको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार जजिरा एयरवेज शनिवार बिहान ७:४० बजे १ सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलमा अवतरण भएको जजिराको जहाजलाई पानीको फोहोराले स्वागत गरिएको थियो ।

फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दैछन् । जजीरा एयर सातामा तीन दिन उडान गर्दैछ । मङ्गलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ । यसैगरी शनिवारदेखि नै जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबईले पनि उडानको सुरुवात गर्ने तालिका रहेको राउतले जानकारी दिए ।

शनिवार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमाडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताए ।

त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्हदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने राउतले बताए ।

विमानस्थल संचालनमा आएको दुई वर्षपछि विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि निजी क्षेत्र हौसिएको छ ।

भैरहवा तथा आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् ।

देवदह नगरपालिकाका तिजन रानाले पहिलो पटक भैरहवामै अवतरण गर्न पाउदा खुसी भएको बताए ।

‘हामी भैरहवा विमानस्थल सञ्चालनको एकदमै पर्खाइमा थियौँ, सञ्चालन हुने वित्तिकै पहिलो उडानबाट भैरहवा आएका छौँ’, उनले भने, ‘वर्षमा दुई पटक नेपाल आइन्छ, अब काठमाडौँ नै धाउनुपर्ने बाध्यता हुँदैन ।’

सोही विमानमार्फत भैरहवा आइपुगेका कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुशी भएको बताए ।

यसले नेपाल र कुवेतबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यहाँका नेपाली नागरिकलाई आवतजावतमा सहज पु¥याउने बताए । राजदूत लम्सालले विमानस्थल नियमित सञ्चालनमा सबैलाई सहयोग गर्न आग्रह गरे ।


क्लिकमान्डु