सुरुङ खनेर जेलबाट भागेका विनायकलाई गोली चलाएर प्रहरीले पक्रियो



सुनसरी । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।

सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गएराति नेपाल-भारत सीमाको कोशी गाउँपालिका-८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् ।

छठ मनाउन भारतको बिहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका-८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोलीसमेत फायर गर्नुपरेको जनाएको छ । प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली चलाउनु परेको बताए ।

भाग्न खोजेका उनी आत्तिएर लडे पनि गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानून बमोजिमको कारबाही प्रकृया अघि बढाइएको जनाएको छ । सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए ।

अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९/०७/२३ गते सुरूङ खनेर भागेका थिए । सो बखत उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए ।

झुम्का कारागारबाट भागेका विनायकलाई केहि समय पछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । यद्यपी कैद भुक्तानका लागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२/१/१२ गते भागेका थिए । प्रहरीकाअनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन् ।


क्लिकमान्डु