भारतले नबोलाएको झोकमा प्रधानमन्त्रीको चीन भ्रमण: छैन ठोस एजेण्डा !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस एजेण्डाबिना चीन भ्रमण गर्न लागेको खुलेको छ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाको विषयमा कुनै टुंगो लागेको छैन ।
विगतदेखि चीन सरकारसँग भएका छलफललाई निरन्तरता दिने तथा चीनका उच्च राजनीतिक अधिकारीसँग संवाद गर्ने बाहेक भ्रमणको ठोस एजेण्डा तय हुन नसकेको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् ।
‘मंसिर १७ गतेदेखि चीन भ्रमण हुने भनिएको छ । अहिलेसम्म एजेण्डाको विषयमा विषयगत मन्त्रालयसँग छलफल सुरु भएको छैन,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘आगामी ३ सातामा ठोस एजेण्डा तय हुने सम्भावना पनि छैन । किनभने प्रधानमन्त्री तहको भ्रमण एजेण्डा हामीले चाहेर मात्रै तह हुँदैन । चीनको परराष्ट्र मन्त्रालय र डेस्क तहमा पनि छलफल हुनु पर्छ । हामीले अहिलेसम्म एजेण्डाका विषयमा दुईपक्षीय छलफल सुरू गरेका छैनौं ।’
परराष्ट्रका अधिकारीहरु भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणमा नबोलाउँदा चीन भ्रमण गर्ने तयारी गरिएकाले एजेण्डा तय हुन नसकेको दाबी गर्छन् ।
‘प्रधानमन्त्री तहको भ्रमण लहडमा भयो भने चाहेर पनि एजेण्डा तय गर्न सकिँदैन,’स्रोतले भन्यो, ‘भारतले भ्रमणमा नबोलाएको झोकमा चीन जाने निर्णय भएकाले पनि अहिलेसम्म ठोस एजेन्डा तय हुन नसकेको हो।’
परराष्ट्र मन्त्रालयका अधिकारीकाअनुसार प्रधानमन्त्री ओली चीन भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गर्ने तयारी गरेका छन् ।
यस्तै, ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत अनुदानमा नयाँ आयोजना सुरु गर्ने गरी प्रस्ताव राख्ने सम्भावना छ । सत्ता साझेदार नेपाली कांग्रेसले बीआरआई अन्तर्गत अनुदान मात्रै स्वीकार गर्ने औपचारिक निर्णय गरिसकेकाले यसपटक ओलीले बीआरआई अन्तर्गत ऋण लिने गरी सम्झौता गर्ने सम्भावना छैन ।
चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआई अन्तर्गतको आयोजना भएको बताउँदै आएको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा पोखराको ऋणलाई अनुदानमा परिवर्तन गर्ने सर्तमा पोखरालाई बीआरआई अन्तर्गतको आयोजनाको रुपमा स्वीकार गर्ने गरी सम्झौता गर्ने सम्भावना छ ।
अर्थ मन्त्रालयले गत भदौ ६ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको थियो ।
तर, अहिलेसम्म चीन सरकारले उक्त प्रस्तावमा कुनै जवाफ दिएको छैन ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई लेखेको पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका थिए ।
पत्र हस्तान्तरण गर्नुअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो ।
२०७२ साल चैत्र ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य सुरु भएको थियो । २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । तर, हालसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायीक रुपमा सञ्चालन हुन सकेको छैन ।
पोखरा विमानस्थलका विषयमा गत भदौमा गरिएको प्रस्ताव बाहेक कुनै नयाँ ठोस प्रस्ताव नभएकाले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई एजेण्डारहित भ्रमण भनिएको हो ।