ओली सरकारको राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा, साढे दुई वर्ष सार्वजनिक खरिदमा भाग लिन नपाउने



काठमाडौं । बहालवाला ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम/एनबी जेभीलाई कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सन राज्यमन्त्री पूर्ण बहादुर तामाङको हो भने एनबी कन्स्ट्रक्सन रमिला लामाको कम्पनी हो । सडक विभाग मातहतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन,तुम्लिङटारको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । कार्तिक २१ गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले कालोसूचीमा राख्ने निर्णय गरेको हो । कम्पनीले काम लिएर अलपत्र पारेको छ ।

 २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएको अवधिभर कम्पनीले कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउँदैन । यस अघि पनि कान्छाराम कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका छन् । उनले व्यवसाय गर्ने मान्छे कालोसूचीमा पर्ने बताउँदै आएका छन् ।

कान्छाराम तामाङ ‘क’ वर्गका ठेकेदार हुन् । उनी रामेछापबाट निर्वाचित सांसद हुन् । उनी राजनीतिमा लागेपछि व्यवसायमा ध्यान दिन पाएका छैनन् । जसका कारण उनी अरु कम्पनीसँग जेभीमा काम गरिरहेका छन् । जेभी कम्पनीका कारण उनी समस्यामा पर्न थालेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छारामसहित एक दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ ।


क्लिकमान्डु