रविलाई हिरासतमा राख्न अदालतले दिएको म्याद सकियो, आज थप होला कि नहोला ?



काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीले आज अदालत पेस गर्दै छ । कास्की जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेलाई ७ दिन थप हिरासतमा राख्न अनुमति दिएको थियो ।

८ गतेबाट सातदिन कात्तिक १४ गतेसम्म भए पनि १५ गतेबाट तिहार बिदा परेपछि बिदा सकिए लगत्तै लामिछानेलाई अदालत पेस गर्न लागिएको हो ।

सरकारी बिदा सकिएपछि कार्यालय खुलेको पहिलो दिन प्रहरीले आरोपीलाई अदालतमा उपस्थित गराउने गर्छ । अदालत तिहारको टीका सकिएको पर्सीपल्ट अर्थात २० गतेबाट मात्र खुलेपछि आज लामिछानेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको हो ।

कात्तिक २ गते काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।

अदालतले प्रहरीलाई सम्पत्ति शुद्धिकरणमा पनि अनुसन्धान गर्न अनुमति दिएको छ ।

लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने सरकारले रविमाथि राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको आरोप लगाउँदै आएको छ ।

विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले १२५ घण्टा हिरासतमा राख्दा ४-५ घण्टामात्र बयान लिइएको भन्दै लामिछानेलाई दालभात खुवाउन ल्याएको हो भन्दै प्रश्न गरेका थिए ।
सरकारले लामिछानेको अपमान र मानमर्दन गर्न खोजेको उनले आरोप लगाए ।

‘मानमर्दन गर्ने, अपमान गर्ने जुन शैलीमा सरकार प्रस्तुत भएको छ यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ,’ वाग्लेले भने, ‘यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भनिन्छ । र, त्यो राजनीतिक प्रतिशोध नै साँधेको हो भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको दाबीलाई हिजोको पछिल्लो वस्तुस्थितिलाई पुष्टि गरेको छ ।’

रविलाई पक्राउ गरि पोखरा ल्याइएपछि रास्वपाका नेता कार्यकर्ता भने आन्दोलित भएका छन् । पोखराको सहिद चोक लगायतका स्थानमा रास्वपाका नेता कार्यकर्ताले आन्दोलन गरेका थिए । तिहार अघि रास्वपाले काठमाडौंमा पनि प्रदर्शन गरेको थियो ।


क्लिकमान्डु