बचतकर्ताको पैसामा अग्रिम बाँसबारी सहकारीका अध्यक्षको मस्तीः बिनाब्याज १ करोड बढी ऋण, आफैंले कति लिए ?



काठमाडौं । काठमाडौं महानगरपालिका-३ रहेको अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु गिरी लगायतले बचतकर्ताको पैसा मनलाग्दी उपभोग गरेका छन् ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले २०८० चैत १९ गते गरेको अनुगमनका क्रममा अग्रिम बाँसबारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरीले बचतकर्ताको बचत मनलाग्दी प्रयोग गरेको पाइएको हो ।

अनुगमनका क्रममा संस्थाले ८३ वटा कर्जाको १ करोड ५१ लाख ९६ हजार ५८९ रुपैयाँ शून्य व्याजदरमा लगानी गरेको पाइएको छ । अध्यक्ष गिरी आफैंले पनि बचतकर्ताको बचतबिना ब्याज उपभोग गर्ने गरेको पाइएको छ ।

सहकारी ऐन २०७४ को दफा ५० अनुसार सदस्य बाहेक अन्य सदस्यलाई सदस्यता प्राप्त गरेको तीन महिना अवधि व्यतित नभई ऋण लगानी गर्न पाइने छैन । तर संस्थाले नयाँ सदस्यलाई सदस्यता प्राप्त गरेको ३ महिना अवधि नपुग्दै र सेयर सदस्य नभएको व्यक्तिलाई ऋण लगानी गरेको पाइएको हो ।

क्लिकमान्डुलाई प्राप्त महानगरको अध्ययन प्रतिवेदनअनुसार सहकारीले कानून विपरित संस्थाको सदस्य हिरा कुमारी लामालाई ४२ लाख कर्जा दिएको छ । यस्तै शिला माया गुरुङलाई २० लाख रुपैयाँ कर्जा दिएको छ ।

नियमानुसार सदस्यता प्राप्त गरेको ३ महिना अवधि पुगेपछि मात्र ऋण लगानी गर्नुपर्ने काठमाडौं महानगर सहकारी विभागले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनअनुसार हिरा कुमारी लामालाई २०८० माघ २६ गते दिएको ४२ लाख ऋणमा धितो राखिएको भनिएता पनि ऋणमा पनि संस्थागत मूल्यांकनकर्ताबाट धितो मूल्यांकन नगरी ऋण प्रवाह गरेको पाइएको छ ।

धितो राखिएको ऋणमा धितो मूल्यांकन गरेर मात्र ऋणको रकम निर्धारण गर्न अध्ययनले सुझाव दिएको छ ।

सहकारी विभागले मिति २०७९ जेठ १२ गते जारी गरेको सहकारी संघ संस्थामा सुशासन प्रवद्धनका लागि एकीकृत निर्देशिका २०७९ को बुदा न. १८ अनुसार तत्काल कायम रहेको पूँजीकोषको अधिकतम १० प्रतिशत नबढ्ने गरी मात्र प्रति सदस्य कर्जा प्रवाह गर्न पाउने व्यवस्था रहेकोमा अनुगमनको दिनमा बाँकी मौज्दात रहेका कर्जामध्ये केही सदस्यलाई कर्जा प्रवाह गर्दा सीमाभन्दा बढी लगानी गरेकोको पाइएको छ ।

सहकारीले सदस्य नै नभएको रतन पोखरेललाई बिना ब्याज २९ लाख ७० हजार कर्जा प्रवाह भएको छ । यस्तै संस्थाको अध्यक्ष बिष्णु गिरीलाई १६ प्रतिशत ब्याजदरमा १६ लाख ७८ हजार १८६ रुपैयाँ र बिना ब्याज १९ लाख कर्जा लगानी गरेको छ । यस्तै हिरा कुमारी लामालाई १८ प्रतिशत ब्याजदरमा ४२ लाख कर्जा लगानी गरेको छ ।

बचतको व्याजदर भन्दापनि कम दरमा सिमित व्यक्तिहरुलाई कर्जा लगानी गरेको पाइएको छ ।

विभागले अनुगमनका क्रममा नियमविपरित पूंजीकोष नघाएर लगानी गरेका कर्जाहरुलाई यथाशिघ्र सीमाभित्र ल्याउन सुझाव दिएको छ ।

सहकारीले आर्थिक वर्ष २०७९/०८० मा सम्पूर्ण कर्जा (भाखा नाघेको कर्जा समेतलाई) जम्मा १ प्रतिशत मात्र कर्जा नोक्सानी ब्यबस्था गरी ३५ प्रतिशत तथा १०० प्रतिशत कर्जा नोक्सानी ब्यबस्था गरेको पाइएको छैन ।

प्रदेश सहकारी ऐनको दफा ४६ (३) बमोजिम नयाँ कर्जाको हकमा १ प्रतिशत तथा नविकरण गर्दा बढीमा ०.२५ प्रतिशत सेवा शुल्क लिनुपर्नेमा बढी सेवा शुल्क असुल गरेको देखिएको छ ।

नियम विपरित लिएको सेवा शुल्क सदस्यलाई फिर्ता गर्नुपर्ने र आगामी दिनमा नियमसंगत शुल्क मात्र लिन सुझाव दिएको छ ।
अनुगमनको क्रममा संस्थाले ८३ वटा कर्जाको १ करोड ५१ लाख ९६ हजार ५८९ रुपैयाँ शून्य व्याजदरमा लगानी गरेको पाईएको छ ।

एक प्रतिशत ब्याजदरमा २ वटा कर्जाको ४८ हजार ४५३ रुपैयाँ रहेको छ । सहकारी संस्थाको सिस्टम रुजु गर्दा ११४ वटा कर्जामा सन्दर्भ व्याजदरभन्दा बढी ब्याज रकम असुली गरेको पाईएको छ । संस्थाले कर्जा लगानीमा १७ देखि २२ प्रतिशतसम्म ब्याज असुल उपर गरेको छ ।

सन्दर्भ ब्याजदरको परिधिभित्र रहेर कर्जा लगानी तथा असुली गर्न सुझाव दिएको छ । सहकारीका अध्यक्ष गिरीले आफु कार्यकारी अ्रध्यक्ष भएको भन्दै मासिक ५६ हजार ८०० रुपैयाँ सुविधा लिँदै आएका थिए ।


क्लिकमान्डु