रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा रहने, अदालतले दियो अनुमति



पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थप भएको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई यसअघि आइतबार ६ दिन अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।

प्रहरीले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आज उपस्थित गराइएको थियो।

गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।


क्लिकमान्डु