विश्वप्रसिद्ध ट्राभल गाइड लोनली प्लानेटको घुम्नैपर्ने विश्वका ३० गन्तव्यमा नेपालको तराई क्षेत्र



काठमाडौं । विश्वप्रसिद्ध ट्राभल गाइड बुक पब्लिसर ‘लोनली प्लानेट’ले २०२५ मा घुम्नैपर्ने विश्वभरका ३० वटा उत्कृष्ट गन्तव्यमा नेपालको तराई क्षेत्रलाई पनि समावेश गरेको छ ।

विशेषगरी तराई क्षेत्र काठमाडौं वा अन्य हिमालय क्षेत्र जत्तिकै प्रसिद्ध नभए पनि नेपालको दक्षिणी क्षेत्र तराईको भूभागले उस्तै असाधारण अनुभव दिने लोनली प्लानेटले उल्लेख गरेको छ ।

ध्यान गरिरहेका एक बौद्धमार्गीको पछाडिको भागको तस्बिर पोस्ट गर्दै लोनली प्लानेटको वेबसाइटमा लेखिएको छ, ‘नेपालको तराई क्षेत्र हिमालय वा काठमाडौं जत्तिकै प्रसिद्ध नहोला । तर यो दक्षिणी तराई क्षेत्रले उत्तिकै असाधारण अनुभव प्रदान गर्छ ।’

वेबसाइटमा तराईको गन्तव्यबारे प्रशंसा गर्दै यस क्षेत्रमा एकसिंगै गैँडादेखि गौतम बुद्धको जन्मस्थानमा रहेको मायादेवी मन्दिर घुम्नुपर्ने गन्तव्यको रुपमा व्याख्या गरिएको छ । ‘जहाँ लोपोन्मुख एकसिंगे गैँडा चितवनको राष्ट्रिय निकुञ्जमा देखिन्छ। र लुम्बिनीको मायादेवी मन्दिरमा जानुहोस् । जहाँ ईशापूर्व ५६३ मा बुद्धको जन्म भएको थियो,’ वेबसाइटमा उल्लेख छ ।

लोनली प्लानेटले आउँदै गरेको नयाँ वर्ष २०२५ मा विश्वका ३० वटा देश,सहर वा क्षेत्रलाई असाधारण गन्तव्यहरुको रुपमा छनोट गरेको हो । वेबसाइटमा लोनली प्लानेटले आफ्नो ट्राभल टोलीले विश्वभरबाट यी ३० वटा गन्तव्य छनोट गरेको पनि जनाएको छ।

वेबसाइटमा चितवनको रापती नदीमा डुँगा सफारी गर्न र त्यहाँ गैँडा र विशाल घडियाल गोहीलाई खुला आँखाले नजिकैबाट देख्न सकिने भन्दै पर्यटकहरुलाई सिफारिस गरिएको छ । यस्तै बुद्धको जन्मस्थान मायादेवी मन्दिर पनि अवलोकन गर्न सकिने भनिएको छ ।

यसैगरी इलामको चिया बगानको भ्रमण गरेर आनन्द लिन सकिने पनि बताइएको छ । यस्तै वाइल्डलाइफ पर्यटक तथा वन्यजन्तु प्रेमीहरुका लागि बर्दिया अर्को उत्कृष्ट गन्तव्य रहेको पनि वेबसाइटमा सिफारिस गरिएको छ ।

यसवाहेक फोर्ब्स म्यागजिनले २०२४ वर्षभर घुम्नुपर्ने ५० वटा गन्तव्यमा पनि नेपालको बर्दिया क्षेत्रलाई सूचीकृत गरेको थियो । यसैगरी न्युयोर्क टाइम्स, टाइम म्यागजिन, नेशनल ज्योग्राफिक लगायतका विश्वप्रसिद्ध म्यागजिनले सार्वजनिक गर्ने उत्कृष्ट गन्तव्यमा पनि नेपालका मुस्ताङ, सगरमाथा, अन्नपूर्ण, काठमाडौं, रारा लगायतका ठाउँहरु सूचीकृत भइसकेका छन् ।

लोनली प्लानेटले छिमेकी देश भारतको पोन्डिचेरीलाई पनि उत्कृष्ट गन्तव्यमा समेटेको छ । नेपाललाई भने वेबसाइटमा १२औं स्थानमा सूचीकृत गरिएको छ । सन् १९७३ मा अस्ट्रेलियामा स्थापना भएको विश्व प्रख्यात ट्राभल गाइड बुकले घुमफीर तथा पदयात्राका लागि विश्वभर ओझेलमा परेका गन्तव्यहरुको खोजी गरी पर्यटकहरुलाई सिफारिस गर्दै आएको छ ।

हाल अमेरिकामा मुख्य कार्यालय रहेको लोनली प्लानेटसँग २ सय लेखकहरु आबद्ध छन् । र हालसम्म यसले १५ करोडभन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ । बेलायतको ह्याचेट बुक ग्र्यान्दम बुक सर्भिस जस्ता प्रख्यात वितरकले यसका पुस्तकलाई विश्वभर विक्री गरिरहेका हुन्छन् ।

लोनली प्लानेटको उत्कृष्ट ३० गन्तव्यमा नेपालसहित सूचीकृत भएका देश तथा सहरहरु:

अफ्रिकाको केमरुन

युरोपको लिथुआनिया

ओसियानाको फिजी

एसियाको लाओस

एसियाको काजाखस्तान

दक्षिण अमेरिकाको पाराग्वे

क्यारेबियनको ट्रिनिडाड एन्ड टोबागो

ओसियानाको भानुआतु

युरोपको स्लोभाकिया

युरोपको अर्मेनिया

अमेरिकाको लोकन्ट्री साउथ क्यारोलिना र जर्जिया क्षेत्र

नेपालको तराई क्षेत्र

पानामाको चिरिकी क्षेत्र

अस्ट्रेलियाको लन्सेसन र तमर भ्याली क्षेत्र

स्विजरल्यान्डको भालाइस क्षेत्र

टर्कीको गिरेसन एन्ड ओर्दु क्षेत्र

जर्मनीको बाभारिया क्षेत्र

इङग्ल्यान्डको पूर्वी अङग्लिया क्षेत्र

मध्यपूर्वको जोर्डन ट्रेल क्षेत्र

अमेरिकाको माउन्ट हुड एन्ड कोलम्बिया रिभर जर्ज क्षेत्र

फ्रान्सको तउलस सहर

भारतको पोन्डिचेरी सहर

बुल्गेरियाको बान्सको सहर

थाइल्यान्डको चियाङ माइ सहर

इटालीको जेनोआ सहर

अमेरिकाको पिट्सबर्ग सहर

जापानको ओसाका सहर

ब्राजिलको क्युरिटिबा सहर

स्पेनको पाल्मा दे मालोरका सहर

क्यानडाको एडमोन्टोन सहर


क्लिकमान्डु