सुरक्षित र विश्वासनीय नागरिक उड्डयन प्रणाली विकास गर्न ५ सदस्यीय उच्चस्तरीय अध्ययन समिति गठन
काठमाडौं । सरकारले सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न पाँच सदस्यीय उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वासनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हाको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाजप्रसाद प्रधान र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रहेका छन्।
समितिले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम विश्लेषण गरेर अध्ययन प्रतिवेदन सरकारलाई बुझाउने छ।