रविलाई अदालत लगेपछि यस्तो छ पोखराको ताजा अवस्था (लाइभ)



पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको बिरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेपछि पोखराको सहिदचोक तनावपूर्ण बन्यो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा म्याद थपका लागि पेस गर्नुअघि रास्वपा नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनस्थल निषेधित क्षेत्र रहेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई हट्न भनेको थियो । तर रास्वपाका नेता कार्यकर्ताले नछाडेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयले सहिदचोकको पूर्वपट्टि वाईचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोक र ग्रैहापाटनको पालिखेचोकदेखि नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभा आदि विरोधका कार्यक्रम गर्न निषेध गरेको थियो ।

अर्को आदेश जारी नभएसम्म निषेधज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा जारी आदेशमा उल्लेख छ ।

सहकारीको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई)सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु