भारतमा निर्वासित शेख हसिनाविरुद्ध पक्राउ पुर्जी



एजेन्सी । बंगलादेशको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । शेख हसिनाविरुद्ध जुलाईदेखि अगस्टको बीचमा भएको देशव्यापी आन्दोलनको क्रममा अपराधमा संलग्न भएको आरोप लागेको थियो ।

दुई फरक मुद्दामा शेख हसिना र ओबेदुल कादरसहित ४६ जनाविरुद्ध अन्तर्राष्ट्रिय विशेष अदालत आईसीटीले वारेन्ट जारी गरेको हो । जसले १८ नोभेम्बरभन्दा पहिले नै आईसीटी समक्ष उपस्थित हुन हसिनालाई आदेश दिएको छ ।

आईसीटीले एक मुद्दामा शेख हसिनाको गिरफ्तारीको वारेन्ट जारी गरेको हो । जवकि दोस्रो मुद्दाको रुपमा अवामी लिगका महासचिव ओबेदुल कादरसहित ४५ जनाविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरिएको छ । जहाँ लेखक तथा शिक्षाविद प्राध्यापक जफर इकबाल र पूर्वन्यायाधीश सम्मुद्दीन चौधरी माणिक पनि रहेका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय विशेष अदालतका अध्यक्ष मो गुलाम मुर्तजाको इजलासले यस्तो आदेश दिएको हो । उक्त आदेशपछि मुख्य सरकारी वकिल ताजुल इस्लामले पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिए ।

इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल त्यस्तो न्यायिक संरचना हो जसमा १९७१ को मुक्ति संग्रामको क्रममा मानवीय अपराधको सुनुवाइ गरिएको थियो ।

गत ५ अगस्टमा विद्यार्थी आन्दोलन र विरोधका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर भागेर भारत पुगेकी थिइन् । उनी यतिबेला भारतमै शरण लिएर बसेकी छन् ।


क्लिकमान्डु