इतिहासकै बलियो बन्यो अर्थतन्त्रको बाह्य क्षेत्र, राष्ट्र बैंकको ढुकुटीमा साढे २१ खर्ब बराबरको विदेशी मुद्रा जम्मा



काठमाडौं । देशको अर्थतन्त्रको बाह्य क्षेत्र इतिहासकै बलियो अवस्थामा पुगेको छ । निर्यातमा सुधार नभए पनि आयातमा भएको कमी र बढ्दो रेमिट्यान्सले देश ढुकुटीमा साढे २१ खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा थुप्रिएको छ । उक्त रकम नेपालको कुल बजेटभन्दा ३ खर्ब रुपैयाँले बढी हो । जबकी चालु आर्थिक वर्षको सरकारको बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेदन अनुसार भदौ मसान्तसम्ममा देशको ढुकुटीमा १६ अर्ब ४ करोड अमेरिकी डलर अर्थात् २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबर जम्मा भएको छ । यो हालसम्मकै उच्च हो ।

यसअघि २०७७ पुसमा विदेशी मुद्राको सञ्चिति १२ अर्ब ७७ करोड डलर पुगेको थियो । त्यसबखत राष्ट्र बैंकले लिएको निकै लचिलो मौद्रिक नीति, ब्याजदर करिडोर सम्बन्धी नियम कार्यान्वयनमा भएको उदासिनता र उपभोगमा बढेको उच्च कर्जा वृद्धि ले विदेशी मुद्राको सञ्चिति उक्त विन्दुबाट निरन्तर घटेर २०७९ बैशाखमा ९ अर्ब २५ करोड डलर पुगेको थियो ।

विदेशी मुद्राको सञ्चितिमा गिरावट आउनुको साथै चालु खाता निरन्तर घाटामा गएपछि राष्ट्र बैंकले २०७८ पुसदेखि कसिलो मौद्रिक नीति लिन सुरु गरेको थियो ।

२०७७ पुसमा विदेशी मुद्राको सञ्चिति उच्च विन्दुमा पुग्दा चालु खाता भने घाटामा गईसकेको थियो । २०७७ पुसमा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँले घाटामा थियो । अहिले चालु खाता ५९ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ ।

आर्थिक वर्ष २०८१/८२ कोदुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.८ महिनाको वस्त् र १.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । २०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेको छ । जबकी, २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

विदेशी मुद्रा सन्चिति बढेर ढुकुटी भरिँदा बजारमा अधिक तरलता हुन गई ब्याजदर उच्चदरले घटेको छ । तर विश्वासको कमीका कारण निजी क्षेत्रबाट कर्जाको माग हुन सकिरहेको छैन ।

बढ्दो तरलता र विदेशी मुद्रा सन्चितिलाई दृष्टिगत गरी राष्ट्र बैंकले कर्जा विस्तार हुने नीति ल्याउनुपर्ने देखिएको छ । तर लचिलो नीति लिँदा विगतमा जस्तो अनुत्पादक क्षेत्र र आयातमा अधिक कर्जा विस्तार भयो भने त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने विषयलाई बुझेर राष्ट्र बैंक र सरकारले रोजगारी सिर्जना हुने तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा कर्जा बढाउने नीति लिन ढिला भइसकेको छ । जसरी शरिरमा धेरै इनर्जी जम्मा हुँदा सुगर रोग लाग्छ र मानिस बिरामी हुन्छ त्यसैगरी ढुकुटीमा बढी पैसा थन्किँदा पनि अर्थतन्त्र रोगी बन्छ ।


क्लिकमान्डु