भारत र क्यानडाबीच किन चुलियो तनाव, के होला भूराजनीतिक असर ?



भारत र क्यानडाबीच खालिस्तानी पृथक्तावादीहरूको विषयमा चलिरहेको तनाव उत्कर्षमा पुग्दै गर्दा यसै साता भारतले क्यानडाका ६ जना कूटनीतिकर्मीहरूलाई देश छोडेर जान निर्देशन दिएको छ । त्यसका साथै भारतले क्यानडाका लागि आफ्ना उच्चायुक्त र अन्य अधिकारीको ज्यान खतरामा रहेको भन्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

पोहोर साल जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियास्थित भ्यानकूभरमा रहेको एक गुरुद्वारा बाहिर खालिस्तानी पृथक्तावादी नेता तथा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्या भएपछि क्यानडा सरकारले भारतीय कूटनीतिकर्मी र गुप्तचरहरू त्यस अपराधमा संलग्न रहेको आरोप लगाएको थियो ।

भारतले त्यसको कठोर प्रतिकार गर्दै यस्तो आरोप आधारहीन रहेको र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शिख मतदाताहरूलाई रिझाउनका लागि भारतको बदनाम गरेको दाबी गरेको थियो ।

विवाद चुलिएपछि क्यानडाले त्यतिखेर अक्टोबर महिनामा भारतमा रहेका आफ्ना ४१ जना कूटनीतिकर्मीलाई फिर्ता बोलाएको थियो । ती कूटनीतिकर्मीहरू भारतमै रहिरहेमा उनीहरूको कूटनीतिक उन्मुक्ति खारेज गरिदिने चेतावनी भारतले दिएपछि उनीहरू क्यानडा फर्केका थिए ।

त्यसपछि निज्जरको हत्याको अनुसन्धानका क्रममा क्यानडाको प्रहरीले गत मे महिनामा तीनजना भारतीयहरूलाई पक्राउ गरेको थियो । करनप्रीत सिंह, कमलप्रीत सिंह र करन ब्रार नाम गरेका ती व्यक्तिहरूको भारतीय संस्थापन पक्षसँग कुनै सम्बन्ध छ कि छैन भनी क्यानडाको प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

उक्त  अनुसन्धानपछि खालिस्तानी पृथक्तावादीहरूको हत्या तथा अन्य हिंस्रक गतिविधिमा भारतीय अधिकारीहरूको हात रहेको निष्कर्ष क्यानडा प्रहरीले निकाल्यो । त्यसपछि प्रधानमन्त्री ट्रुडोले भारतबाट महाभूल भएको भन्दै यस्ता आपराधिक गतिविधिहरूलाई रोक्ने दायित्व पूरा गर्ने भनी बयान दिएका थिए । भारतले चाहिँ यी आरोपहरू पुष्टि हुने कुनै पनि ठोस प्रमाण क्यानडाले दिन नसकेको दाबी गरेको छ ।

त्यसो त पञ्जाब राज्यलाई काटेर बेग्लै खालिस्तान नामक मुलुक बनाउने उद्देश्यका साथ खोलिएको भनिएको समूह खालिस्तान टाइगर फोर्सको प्रमुख योजनाकार निज्जर भएको आरोप भारतले लगाउँदै आएको थियो । भारतको आतंकवाद निरोधी राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले निज्जर भारतमा रहेका एक हिन्दू पुजारीको हत्या गर्ने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाउँदै उनको बारेमा सूचना दिने व्यक्तिलाई १० लाख भारुको पुरस्कार दिइने घोषणा समेत गरेको थियो । सन् २०१६ मा निज्जरले पञ्जाबमा बम विस्फोट गराएको र क्यानडामा आतंकवादीहरूलाई प्रशिक्षण दिएको आरोप पनि भारतले लगाएको थियो ।

निज्जरलाई क्यानडाका गुप्तचर अधिकारीहरूले भारतको कालोसूचीमा रहेको र कुनै पनि बेलामा हत्या गरिन सक्ने सूचना दिएको भनी निज्जरका साथीहरूले सञ्चारमाध्यमलाई बताएका पनि थिए । त्यसैले उनको हत्या भएपछि भारतीय संस्थापन पक्षतिर शंकाको सुई तेर्सिएको हुनुपर्छ ।

यसैबीच अर्का खालिस्तानी पृथक्तावादी नेता गुरपतवन्त सिंह पन्नूको नाम पनि जोडिन आउँछ । भारत सरकारले अमेरिकी नागरिक पन्नूलाई सन् २०२० मा आतंकवादी घोषणा गरेको थियो । उनले चलाएको सिख्स फर जस्टिस नामक संस्थालाई भारतले सरकारले प्रतिबन्धको घोषणा गरेको छ । पन्नूले सामाजिक सञ्जालमा भिडियो सन्देश साझा गर्दै एयर इन्डियाका यात्रुहरूलाई तिमीहरूको जीवन खतरामा छ भनी तर्साएको आरोप लगाउँदै एनआईएले उनका विरुद्ध मुद्दा दायर गरेको थियो।

पन्नूलाई अमेरिकाको न्युयोर्कमा भारतीय एजेन्टले हत्या गर्न खोजेको आरोप अमेरिकी अधिकारीहरूले गत वर्षको नोभेम्बर महिनामा लगाएका थिए । उक्त षड्यन्त्रमा निखिल गुप्ता नामक व्यक्ति संलग्न रहेको आरोप लगाउँदै चेक गणतन्त्रबाट उनलाई पक्राउ गरी गत जुन महिनामा अमेरिकासमक्ष सुपुर्दगी गरिएको थियो । अहिले त्यसको अनुसन्धान गर्नका लागि भारतको एक छानबिन टोली अमेरिकाको राजधानी वाशिङटन डीसी पुगेको छ ।

यी दुई प्रकरणमा भारतविरुद्ध गम्भीर आरोप लगाइएपछि भारत प्रतिरक्षात्मक स्थितिमा रहेको देखिन्छ । उसले आरोपहरूको खण्डन गरिरहँदा क्यानडाप्रति आक्रामकता देखाइरहेको छ भने अमेरिकाप्रति ऊ कम आक्रामक देखिन्छ ।

जे होस्, यी घटनाक्रमहरूले भारत र क्यानडाको सम्बन्ध निकै चिसो बनेको स्पष्ट पारेका छन् । यसको भूराजनीतिक असर देखिने पक्का छ । अमेरिका र युरोपेली संघसित मिलेर क्यानडाले हिन्द प्रशान्त रणनीति अन्तर्गत भारतलाई केन्द्रमा राखी चीनसँगको आपूर्ति शृंखलालाई क्रमशः विविधता दिँदै लैजाने र यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्ने योजना बनाइरहेकोमा त्यसलाई समेत जोखिममा पार्ने गरी खालिस्तानी पृथक्तावादीहरूप्रतिको मोहका कारण क्यानडा सरकार भारतलाई लगातार चिढ्याइरहेको छ।

हुन त निरंकुश चीनको विकल्पका रूपमा लोकतान्त्रिक साझेदार भारतलाई क्षमतावान बनाउने र उसैसँग आर्थिक तथा भूराजनीतिक सम्बन्ध विस्तार गर्ने क्यानडा सहितका पश्चिमाहरूको रणनीतिको कार्यान्वयन सोचे जति सरल छैन । आफ्नो राष्ट्रिय सुरक्षालाई जोखिममा पार्ने गरी भारतले संसारको जुनसुकै कुनामा हुने पृथक्तावादी अभियानलाई सहन सक्दैन । तर भारतको यस बाध्यतालाई क्यानडा (र अमेरिका) ले गम्भीर रूपमा लिएका छैनन् ।

यस प्रकरणलाई भारत र क्यानडाले थप चर्काउँदै लगेमा द्विपक्षीय व्यापारमा आघात पुग्नेछ । सन् २०१० मा यी दुई देशबीच व्यापारका अतिरिक्त अन्य पक्षलाई समेत समेट्ने गरी विस्तृत आर्थिक सहमतिका विषयमा कुराकानी चल्न थालेको थियो । तर पछिल्ला प्रकरणहरूले ती वार्तामा विश्राम लगाएका छन् ।

त्यसो त अहिले यी दुई देशबीचको व्यापार त्यति धेरै उत्साहजनक देखिँदैन । क्यानडाले व्यापारिक सम्बन्ध राख्ने देशहरूको सूचीमा भारत दशौं स्थानमा मात्र छ भने भारतको व्यापारिक साझेदार मुलुकको सूचीमा क्यानडा निकै तल ३०औं स्थानमा छ ।

क्यानडाले भारततर्फ मुख्यतया कृषि उत्पादन र खनिज पदार्थहरूको निर्यात गर्ने गरेको छ भने भारतले लत्ताकपडा, हीराजवाहरात र अन्य हल्काफुल्का वस्तु क्यानडालाई पठाउने गरेको छ । यिनीहरूको द्विपक्षीय व्यापारिक सम्बन्धले कुल अन्तर्राष्ट्रिय व्यापारको १ प्रतिशतभन्दा पनि कम हिस्सा ओगटेको छ ।

यसलाई थप घनीभूत बनाउनका लागि विस्तृत आर्थिक सम्झौता गर्न खोजिएको भए पनि त्यसमा अवरोध आएको छ । खासमा दुबै देशले एकअर्कालाई आर्थिक प्राथमिकतामा राख्न खोजेकै देखिँदैन किनकि अन्य मुलुकहरूलाई जस्तो आयातशुल्कमा छुट लगायतका सुविधा उनीहरूले दिनै खोजेका छैनन् । तर भारतको विशाल जनसंख्यालाई विचार गरी क्यानडाले व्यापारिक सम्बन्ध बढाउन पहल गरेको भए उसैलाई लाभ हुने थियो ।

उल्लेख्य व्यापारिक सम्बन्ध नभएकाले गर्दा पनि होला, भारतले क्यानडाविरुद्ध बढी आक्रामकता देखाइरहेको छ । उता क्यानडा पनि भारतलाई यही कारणले शायद लगातार बिच्क्याइरहेको छ ।

भारत र क्यानडाबीचको सम्बन्धको एउटा महत्त्वपूर्ण मियोका रूपमा उच्च शिक्षा हासिल गर्न खोज्ने विद्यार्थीहरूको संख्या पनि रहेको छ । क्यानडाका विश्वविद्यालयहरूमा भारतीय विद्यार्थीहरूको संख्या लगातार बढिरहेको देखिन्छ । विगत १० वर्षमा मात्र क्यानडामा पढ्ने विद्यार्थीहरूको संख्या १५० प्रतिशतले बढेकोमा त्यसको सबभन्दा ठूलो हिस्सा भारतीय विद्यार्थीहरूले ओगटेका छन् ।

फोर्ब्स पत्रिकामा छापिएको खबरअनुसार, विगत दुई दशकमा क्यानडाका विश्वविद्यालयहरूमा भारतीय विद्यार्थी भर्ना हुने दर ५८ सय प्रतिशतले बढेको छ । सन् २००० मा २१ सय ८१ भारतीय विद्यार्थी भर्ना भएकोमा सन् २०२१ मा त्यो संख्या बढेर १ लाख २८ हजार ९२८ पुगेको छ ।

पछिल्ला प्रकरणहरूले दुई देशको सम्बन्धमा चिसोपन ल्याइरहँदा भारतीय विद्यार्थीहरूको प्रवाहमा पनि कमी आउन सक्छ । क्यानडाको साटो अन्य मुलुकहरूमा जानका लागि भारतीय विद्यार्थीहरू प्रेरित हुन सक्ने सम्भावना छ । त्यसले क्यानडालाई नै घाटा लगाउनेछ ।

वास्तवमा क्यानडाले एकपछि अर्को राजनीतिक भूलहरू गरिरहेको देखिन्छ । जस्टिन ट्रुडोको सरकारले अमेरिकाको पिछलग्गू बनेर चीनलाई चिढ्याउने विभिन्न कदम चालेको थियो चाहे, त्यो ह्वावे कम्पनीकी प्रमुख वित्तीय अधिकृत मङ वान्चाउलाई भ्यानकूभर विमानस्थलमा गरेको पक्राउ होस्, चाहे क्यानडाको चुनावमा बेइजिङले हस्तक्षेप गर्न खोजेको आरोप होस् ।

चीनलाई चिढ्याए पनि भारतसँग सम्बन्ध विस्तार गरेर आपूर्ति शृंखलाको विविधीकरण गर्ने रणनीति क्यानडाले बनाएको थियो भने पनि खालिस्तानी पृथक्तावादीहरूलाई भोटको राजनीतिका लागि प्रश्रय गरेर भारतलाई समेत ट्रुडोले रुष्ट बनाइरहेका छन् । लोकप्रियताको ग्राफ लगातार खस्किँदै जाँदा ट्रुडोले क्यानडाको कुल जनसंख्याको २.१ प्रतिशत भाग ओगट्ने सिख समुदायलाई खुशी बनाउन खालिस्तानीहरूको समर्थन गरिरहेको देखिन्छ, भलै सबै सिखहरू खालिस्तानको पक्षमा छैनन् ।

ट्रुडो सत्ताच्युत नभएसम्म क्यानडा र भारतको सम्बन्ध सुध्रिने छाँटकाँट देखिँदैन । आगामी निर्वाचनमा कन्जर्भेटिभहरूको विजय भएमा सिख भोटको राजनीति नहुने र भारतसँग विश्वासको वातावरण बनाउने अपेक्षा गर्न सकिन्छ ।


विन्देश दहाल

दहाल अन्तर्राष्ट्रिय अर्थराजनीति बारे कलम चलाउँछन् ।