अशोक शमशेर राणालाई प्रश्नः राणा परिवार र आम नेपालीको दशैंमा के फरक छ ? (भिडियो)



काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा सानो हुँदा विदेशमा बसेको र १० वर्षको हुँदा बुवा नेपाल आएपछि मात्र दशैंको अनुभव गर्न पाए । उनका लागि दशैं पारिवारिक जमघट हुने अवसर हो ।

दशैंको बेला नयाँ लुगा लगाउने, सहयोगीहरुलाई पनि लुगा किनिदिने चलन त्यतिबेला थियो । उनको घरमा पनि खसी काटिन्थ्यो तर अचेल त्यसो हुन छाडेको छ ।

‘राणा परिवार ठूलो छ, दशैंकै बेलामा जेठो घरमा टीका लगाउने प्रचलनमा छ,’ उनले सुनाए । आफूलाई खसीको मासुको शोख नरहेको बताउने राणा दशैंमा परम्परागत रुपमा मनाउन गर्नुपर्ने कर्म गर्ने दाबी गर्छन् ।

‘हाम्रो घरमा खसी नकाटेको दशकौं भइसक्यो,’ राणा भन्छन् ।

यसपालीको दशैंमा छोरासँग दशैं मनाउन उनी अमेरिका पुगेका छन् । छोराको विवाह भएयता परिवारमा दशैं मनाउन नपाएको भएकाले पनि उनलाई यसपाली जान बाध्यता रह्यो ।

खानेकुराको कुरा गर्दा राणा पनि मिठो मिठो खाना खान मन पराउँछन् । यस्तो गुण उनले बुवा हिमालय शमसेर राणाबाट सिके । विदेश जाँदा स्थानीय खाना खानुपर्छ भनेर पनि बुवाले सिकाएको स्मरण उनले गरे ।

‘बुवाले श्रीलंका र अफगानिस्तानमा स्थानीय सेफ राख्नु भएको थियो, राम्रोराम्रो रेस्टुरेन्ट लग्नुहुन्थ्यो,’ उनी भन्छन् । आफू खानाको शोखिन बन्नुको श्रेय बुवाले राखेको राम्राराम्रा सेफलाई दिन्छन् उनी ।

अशोक राणालाई पनि नेपाली खाना नै मन पर्छ तर पास्ता र सिफुडका पारखी भने हुन् ।

कुनकुन रेस्टुरेन्टमा केके खान पाइन्छ भन्ने भान्जाभान्जी भतीज भतीजीलाई सोध्ने गर्छन् । बैंकको सीईओ भएकाले रेस्टुरेन्ट नै बैंकका ग्राहक हुन्छन् र ती रेस्टुरेन्ट पुगेर चाख्नुपर्छ ।

उनी भान्सामा नछिरेको निकै भइसक्यो । ‘विद्यार्थी हुँदा पहिलोपल्ट राइस पकाउन सिकें । विश्वविद्यालयबाट अपार्टमेन्ट सरेपछि साथीहरुले पकाउन सिकाए,’ उनले भने । अण्डा पनि पकाउन नजान्ने अशोक मासु पकाउन सक्ने बनेका थिए त्यतिबेला ।

घरमा दक्षिणा नपाउने तर मामाघरमा पाउने भएकाले उनलाई पनि उतै जान मन लाग्थ्यो । दक्षिणा खाममा पाउने भएकाले धेरै खामले बढी खुसी दिन्थ्यो रे उनलाई । बैंकका कर्मचारी र टोलका बालबच्चा देउसी खेल्न आउने गरेको तर अचेल त्यो क्रम घटेको सुनाए । विदेशमा बस्दा दशैं मनाउन नपाएको उनले सुनाए ।

उनलाई खाना मन पर्ने चाइनिज फुड हो । ‘चाइनिज फुडमा सिचुवानको पिरो, फ्राइड राइस मन पर्छ,’ उनले भने ।

प्रस्तुत छ, हिमालय शमसेर राणाका पुत्र तथा हिमालयन बैंकका सीईओ राणासँग क्लिकमान्डुका लागि रोविन पौडेलले गरेको कुराकानीः


रोविन पौडेल