प्रधानन्यायाधीशमा राउत नियुक्त



काठमाडौँ । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आइतबार प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गरेका हुन् ।

संवैधानिक परिषद्ले गत भदौ ३१ गते राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानमन्त्री प्रमुख हुने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष दलको नेता, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाका सदस्य, प्रतिनिधि सभाको उपसभामुख तथा प्रधानन्यायाधीश सदस्य हुने संवैधानिक व्यवस्था छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेदेखि अनिवार्य अवकाशमा जाँदै गर्दा नयाँ प्रधानन्यायाधीश राउत बनेका हुन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्म सर्वोच्च अदालतमा बिदा हुने भएकाले आगामी असोज १६ गते श्रेष्ठको कार्यकाल अन्त्य हुनेछ ।

कानुन व्यवसायी पृष्ठभूमिमा सर्वोच्च अदालतको न्यायाधीश बनेका राउतको जन्म २०१७ साल चैत १८ गते भएको थियो । उनी २०७३ साउन १७ रावत सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्ष समेत भएका राउतले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् ।


क्लिकमान्डु