दशैंमा काठमाडौंमा खसी-च्याङ्ग्राको मासु कमी नहुने, कति पर्छ मूल्य ?



काठमाडौं । हिन्दू नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैं लागेसँगै काठमाडौंका बजारहरुमा व्यापार व्यवसायको चहलपहल बढेको छ ।

दशैंमा नयाँनयाँ कपडा, दशैंका लागि आवश्यक सामग्री, मासुका लागि खसी, बोका, च्याङ्ग्रा, भेडा लगायत खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीहरु किनमेल गर्नेहरुको भीड बजारमा देख्न सकिन्छ । विपद्का कारण विगतको तुलनामा यस वर्ष केही कमी देखिएपनि दशैंको लागि तयारी तिब्र छ ।

शहरहरुबाट गाउँ फर्किने र कामको सिलसिलामा बाहिर रहेका नेपालीहरु स्वदेशमा फर्किने क्रम पनि बढिरहेको छ । त्यसैले पनि बजार चलायमान बन्दै गएको छ ।

विपद्का कारण दशैंमा खसी, बोकाहरु कमी हुने हो की भन्ने चिन्ता आम सर्वसाधारणमा रहेको छ । तर कलंकी खसी बजार व्यवस्थापन समिति भने काठमाडौं उपत्यकामा विगत झैँ यस वर्ष पनि मासुको कमी हुन नदिने र आपूर्ति पुर्‍याउने बताउँछ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कलंकी खसी बजार व्यवस्थापन समितिका व्यवस्थापक जीवनराज खतिवडाले समिति बनाइ खसी विक्री वितरण गरेको ३१ वर्षसम्म काठमाडौं उपत्यकाको माग पूरा गरिरहेको र यस वर्ष पनि आपूर्ति पूरा गर्ने बताए । उनले यस वर्ष विपद्का कारण सडकहरुको अवस्था केही कठिन भए पनि पश्चिमबाट खसी, बोका र च्याङ्ग्राहरु ल्याउने काम भइरहेको बताए ।

काठमाडौंमा मासुको व्यवस्थापन गर्न ३५/४० जिल्लाबाट खसी, बोका, च्याङ्ग्रा भित्र्याउने काम भइरहेको उनको भनाइ छ ।

विपी राजमार्गको अवरोधका कारण पूर्वी जिल्लाहरु र रामेछाप लगायतका जिल्लाहरुबाट भने खसी, बोका ल्याउन कठिनाइ हुने उनी बताउँछन् ।

मूल्य पनि पोहोरकै आसपासमा खरिदविक्री हुने अनुमान रहेको र अहिले जिउँदो खसीको मूल्य प्रतिकिलो ६ सयदेखि ७४० सम्म र च्याङ्ग्राको १३ सयसम्म रहेको उनले जानकारी दिए ।

रसुवा र तातोपानी नाका नखुलेसँगै च्याङ्ग्रा मुस्ताङबाट मात्रै ल्याउनुपरेकाले केही महँगो हुने उनले बताए ।

विगतमा दशैंलाई मात्र लक्षित गरेर घटस्थापनादेखि नवमीसम्म ४५ हजार जति खसीबोका बिक्री हुने गरेको र यस वर्ष पनि सोही आसपासमा बिक्री हुने अनुमान गरेको बताए ।

‘मूल्य पनि पोहोरकै आसपासमा खरिदबिक्री हुने जस्तो हामीले सोचेका छौँ । खसीको मूल्य ६ सयदेखि ७४० सम्मको लगभग पोहोरकै छ,’ उनले भने, ‘रसुवा नाका खुल्ने भएकाले त्यताबाट पनि च्याङ्ग्रा आउने हुँदा केही मूल्य घट्ने भन्ने हामीले आश गरेका थियौँ । तर तातोपानी र रसुवाको नाका पनि बन्द भएकाले मुस्ताङको मात्रै हुँदा च्याङ्ग्रामा केहीमूल्य बढ्ने अवस्था छ ।’

गत वर्ष खसी बजारबाट २५ हजार खसी, बोका, च्याङ्ग्रा, भेडा बिक्री गरेको उनले बताए ।

अहिले खसी,बोकाको माग काठमाडौंमा घटिरहेकाले त्यसको असर व्यापारमा परेको उनको भनाइ छ ।

खसी व्यापारी सन्तोष राईले आफूहरुले मुस्ताङको च्याङ्ग्रा बाटो बिग्रिएका कारण बेनीबाट ११ दिन लगाएर काठमाडौं ल्याएको बताए । च्याङ्ग्रा जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेको उनले बताए । खसी ६ सयदेखि ७२० सम्म र बोका ६५० देखि ७ सयसम्म बिक्री गरिरहेको उनले बताए ।

‘च्याङ्ग्रा हामीले जिउँदो किलोको १२ सय ५० देखि १३ सयसम्म बेचिरहेका छौँ । खसी ६ सयदेखि ७२० सम्म छ । बोका ६५० देखि ७ सयसम्म छ । च्याङ्ग्रा वर्षमा एकपटक आउने भएकाले अलि महंगै पर्छ,’ उनले भने, ‘बाटोमा पहिरो गएको छ, अहिले आउन गाह्रो छ । बेणीबाट ११ दिन लाग्यो । मुस्ताङबाट आएको च्याङ्ग्रा हो ।’


क्लिकमान्डु