पूर्वाधारमन्त्री दाहालले दिए अवरुद्ध यातायात सहज बनाउन निर्देशन



काठमाडौ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढि पहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिएका छन् ।  सम्वद्ध निकायहरु विच समन्वय गरि सडक तथा यातायात क्षेत्र सहज बनाउन उनले निर्देशन दिएका हुन् ।  

अबिरल वर्षा पछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनका साथै कतिपय पुल समेत बगाए पछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उनको निर्देशन छ । मौसमी प्रतिकुलताका कारण उत्पन्न भएको परिस्थितिमा सवै पक्षले सहकार्य र समन्वय गरि सहज स्थिति निर्माणमा जुट्नु पर्ने पनि उनले बताए  ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले देशै भरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभाग मार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिए । पहिरो पन्छाई सडक सुचारु गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको बताए ।

यसैविच अबिरल वर्षा र बाढिका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुशिलबाबु ढकालले विज्ञप्ति जारै गर्दै राजमार्गका ती खण्डमा पहिरो जानका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको उल्लेख गरेका छन् ।  मुग्लिन-पोखरा सडक खण्ड तथा मलेखु मुग्लिन नारायणगढ सडक खण्डका पहिरो पन्छाई सडक सुचारु अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु