घरको गेट नखोलेपछि भर्‍याङ लगाएर भित्र पसेर दुर्गा प्रसाईंलाई प्रहरीले यसरी गर्‍यो पक्राउ (फोटो/भिडियो)



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित निवासबाट प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नियन्त्रणमा लिएको हो ।

साइबर व्युरोबाट पक्राउ गर्न प्रहरी गए पनि उनको घरको ढोका खोलिएको थिएन । धेरैबेर कुर्दा पनि ढोका नखोलेपछि प्रहरी भर्‍याङ लगाएर भित्र प्रवेश गरेको थियो । प्रहरीविरुद्ध हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओलीसँग आफ्नो एक थोपा रगत रहेसम्म लडिरहने बताएका हुन् ।

‘मेरो एक थोपो रगत रहेसम्म केपी ओलीसँग लड्ने छु,’ प्रसाईंले भनेका छन् । पक्राउ परिरहँदा प्रसाईंले प्रहरी टोलीलाई आफूलाई भ्रष्टाचारीलाई पक्राउ गरे जस्तो नगर्न आग्रह गर्दै आफू स्वयं गाडीमा जाने बताएका थिए ।

विवादित व्यवसायी प्रसाईंले पछिल्लो समय व्यवसायीहरुसहित राजनीतिज्ञहरुविरुद्ध चरित्रहत्या गर्ने टिप्पणी गर्दै आएका थिए । उनले थुप्रै नेताहरुविरुद्ध उनले व्यक्तिगत लान्छना पनि लगाउँदै आएका थिए ।

आफूलाई प्रधानमन्त्री केपी ओलीको नाती बताउने गरेका प्रसाईंले ओलीविरुद्ध पनि निजी र आपत्तिजनक आरोप लगाउने गरेका थिए । उनी यसअघि एमालेकै नेतासमेत थिए ।

एमालेको सौराहा महाधिवेशनमा प्रसाईं पनि प्रतिनिधि बनेर गएका थिए । लामो समय माओवादी र पछि एमालेमा रहेका उनले झापाको बीएन्डसी कलेजलाई सम्बन्ध दिलाउनका लागि लबी गर्दै आएका थिए ।

तर सरकारले सम्बन्धन नदिएपछि सार्वजनिक रुपमै उनले नेताहरुविरुद्ध लान्छना लगाउन थालेका हुन् । पछिल्लो समय उनी राष्ट्र राष्ट्रियता धर्म बचाऊ नामको अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।


क्लिकमान्डु