झापा पुगेर प्रचण्डले भने: बेथितिविरुद्ध आवाज उठाउँदा मैले सरकार छोड्नुपर्‍यो



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलन विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन् ।

आइतबार बिहान झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन‍् । प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा पुगेका दाहालले गिरिबन्धु टी स्टेटको विषयमा पनि प्रतिक्रिया दिएका थिए । यस क्रममा उनले गिरीबन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ बिघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने बताएका थिए ।

आइतबार बिहान सोही ५१ बिघा जग्गामा भारतीय दूतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका थिए ।

स्थानीयवासीको ज्ञापनपत्र बुझ्दै दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने बताएका थिए । उनले भने, ‘सायद मैले यिनै बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो । तर अब सडकबाट भए पनि, सदनबाट भए पनि, सरकारबाट भए पनि तपाईंहरुलाई न्याय दिलाउनेछु ।’

‘मर्निङ वाक’मा निस्किएका दाहाललाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने आश्वासन दिएका थिए ।


क्लिकमान्डु