थाइ प्रधानमन्त्री सिनावात्राले प्रस्तुत गरिन् आर्थिक नीति



एजेन्सी । थाइल्याण्डकी नयाँ प्रधानमन्त्री पातोङटार्न सिनावात्राले संसदमा आफ्नो सरकारका नीतिगत प्राथमिकता प्रस्तुत गरेकी छन् । प्रधानमन्त्री सिनावात्राले आन्तरिक ऋण घटाउने र आर्थिक वृद्धि गर्नेमा आफ्नो सरकार केन्द्रित हुने बताएकी छन् ।

थाई सरकारले व्यापक रुपमा ऋण पुनर्संरचना गर्ने, विशेषगरी घर र अटो लोनमा जोड दिने योजना बनाएको छ । थाइल्याण्डमा हाल आन्तरिक ऋण १६ ट्रिलियन भाट (लगभग ४७४ अर्ब अमेरिकी डलर)भन्दा धेरै पुगेको छ ।

साथै निष्क्रिय कर्जा बढ्दै गएको अवसथामा नयाँ प्रधानमन्त्री सिनावात्राको आर्थिक वृद्धिको योजना सार्वजनिक भएको हो । शक्रबार समापन हुने भनिएको दुईदिने संसदीय अधिवेशनले पातोङटार्नको प्रशासनको औपचारिक सुरुवात पनि गरेको छ ।

फेउ थाई पार्टीकी नेता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३८ वर्षीया पातोङटार्न गत अगस्टमा संसदीय मतदानबाट विजयी भएकी थिइन् ।

थाइल्यान्डको सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई संविधानविपरीत मन्त्री नियुक्त गरेको भन्दै पदमुक्त गरेपछि त्यहाँको संसद्‍ले पातोङटार्नलाई नयाँ प्रधानमन्त्रीको रुपमा चयन गरेको हो । पातोङटार्न थाइल्याण्डको सबैभन्दा कम उमेरको र दोस्रो महिला प्रधानमन्त्री पनि हुन् । थाइल्यान्डमा पातोङटार्नकी काकी यङलक सिनावात्रा पहिलो प्रधामन्त्री बनेकी थिइन् ।


क्लिकमान्डु