अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने



काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकता भएको भन्दै नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको औंल्याउँदै अर्थमन्त्री पौडेलले देशको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।


क्लिकमान्डु