अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल चलाउन नदिने, तर नेपालमा के छ व्यवस्था ?



चीन, फ्रान्स र अमेरिकाका थुप्रै राज्यले पनि बालबालिकाहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न दिएका छैनन् । नेपालमा भने सामाजिक सञ्जालको उचित नियमन नहुँदा बालबालिकाहरु हिंसा र शोषणको शिकार बनिरहेका छन् ।

एजेन्सी । अस्ट्रेलियाले बालबालिकाहरुलाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने तयारी गरेको छ । इन्स्टाग्राम र टिकटकले बालबालिकाहरुको शारीरिक र मानसिक रुपमा नकारात्मक रुपमा प्रभाव पारेको भन्दै अस्ट्रेलियाले १४ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरुलाई सामाजिक सञ्जाल चलाउन नदिने भएको हो ।

अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लागू गर्न आगामी महिना उमेर प्रमाणीकरण परीक्षण सुरु गर्ने बताएका छन् । अल्बानिजले १४ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको पनि बताए ।

प्रधानमन्त्री अल्बानिजले बालबालिकाहरुले सामाजिक सञ्जाल प्रयोग गर्नाले तिनका अभिभावकहरु चिन्तित भएको भन्दै म्याप बिना नै काम गरिरहेको पनि बताए ।

प्रधानमन्त्री अल्बानिजले भनेका छन्, ‘आमा बाबुहरुले चाहेका छन् कि उनीहरुका केटाकेटीहरु फोनबाट टाढा खुला मैदानमा पैदल यात्राका लागि जाउन् । र म पनि यस्तै चाहन्छु । त्यसैले हामी यो निर्णय लिँदैछौं । इनफ इज इनफ (अब धेरै भइसक्यो) ।’

यसअघि विपक्षी दलका नेता पिटर डुट्टोनले पनि १६ वर्षमुनिका बालबालिकाहरुलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका थिए । चीन, फ्रान्स र अमेरिकाका थुप्रै राज्यले बालबालिकाहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइसकेका छन् ।

साइबर बुलिङ लगायत अनलाइनबाट हुने नोक्सानका कारण ती देशहरुले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएका हुन् । यससँगै विज्ञहरुले पनि बालबालिकालाई सामाजिक सञ्जाल चलाउन दिँदा उनीहरुको गोपनीयता जोखिममा पर्ने तथा उनीहरुमाथि शोषण हुनसक्ने जस्ता खतरा औंल्याउँदै आएका छन् ।

के छ नेपालको अवस्था ?

नेपालमा भने सामाजिक सञ्जाल प्रयोगलाई लिएर उचित नियमन नहुँदा ठूलो संख्यामा बालबालिकाहरु साइबर असुरक्षाको शिकार बनिरहेका छन् ।

‘अनलाइन हार्मिङ’का मुद्दाहरु हरेक वर्ष प्रहरीकहाँ पुग्ने गरेको छ । सामाजिक सञ्जालको माध्यमबाट गरिने व्यवसायमा कडाइ गर्ने सम्बन्धी विधेयक संसद्‍ले पारित गरे पनि बालबालिकाको प्रयोग सम्बन्धी स्पष्ट कानुन उल्लेख छैन । यसवाहेक सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुन पनि उपलब्ध नहुँदा साइबर अपराधका केसहरु आउने गरेका छन् ।

सामाजिक सञ्जालको उचित नियमन नहुँदा विशेषगरी बालबालिकाहरुमा यौन हिंसाका घटनाहरु बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् ।

सामाजिक सञ्जालमा नग्न तस्बिर, अडियो तथा भिडियोहरुको प्रयोग व्यापक रुपमा बढिरहेको र त्यस्ता सामग्रीले बालबालिकामा नकारात्मक असर पारिरहेको सर्वेक्षणले देखाएका छन् । सरकारले भने सामाजिक सञ्जालले बालबालिकामा पार्ने असर हटाउन ठोस कदम चाल्न सकिरहेको छैन ।

यसबीचमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले टिकटकले नकारात्मक भावना र घृणा फैलाएको भन्दै प्रतिबन्ध लगाएको थियो । तर केपी ओली नेतृत्वको वर्तमान सरकारले टिकटकको प्रतिबन्ध फुकुवा गरिदिएको छ । यससँगै देशका विभिन्न स्थानमा बालबालिकाहरु पनि टिकटक भिडियोहरुमा प्रयोग भइरहेका छन् ।


क्लिकमान्डु