बक्यौता नउठेपछि प्राधिकरण आक्रामक, एक सातामै काट्यो साढे ८ हजार ग्राहकको लाइन



काठमाडौं । नेपाल विद्युत प्राधिकरण बक्यौता उठ्न छाडेपछि आक्रामक रुपमा प्रस्तुत भएको छ । बक्यौता उठ्न छाडेपछि प्राधिकरणले ग्राहकको लाइन काट्न थालेको छ ।

प्राधिकरणले करिब एक सातामा ८ हजारभन्दा बढी ग्राहककको लाइन काटेको छ । प्राधिकरणले भदौ ११ गतेदेखि १८ गतेसम्म ८ हजार ६७१ जना ग्राहकको लाइन काटेको छ । यी ग्राहकले करिब १५ करोड रुपैयाँ बक्यौता नतिरेपछि लाइन काटेको हो । ‘हामीले बक्यौता नतिर्ने ग्राहकहरुको लाइन काट्न थालेका छौं । लाइन नकाटी बक्यौता नै उठ्न छाड्यो,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘लाइन काट्न थालेपछि बक्यौता उठ्छ । हामी देशभरी बक्यौता नतिर्नेको लाइन काट्छौं ।’

कुन प्रदेशका कार्यालयले कति काटे लाइन ?

यो अवधिमा सबैभन्दा धेरै ग्राहकको लाइन लुम्बिनी प्रदेशमा काटिएको छ । यो प्रदेशका २ हजार ५ सय  ६७ ग्राहकको लाइन काटेको छ । लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले १३६४ ग्राहक र प्रदेश डिभिजन कार्यालय,नेपालगञ्ज १२०३ ग्राहकको लाइन काटेको छ ।

कर्णाली प्रदेश, प्रादेशिक कार्यालय,विराटनगरले  १ हजार ७ सय १८ ग्राहकको लाइन काटेको छ ।

मधेश प्रदेश,प्रादेशिक कार्यालय, जनकपुरले १ हजार ५ सय ८ ग्राहकको लाइन काटेको छ । बागमती प्रदेश,प्रादेशिक कार्यालय,काठमाडौं २७१ र प्रादेशिक कार्यालय, हेटौडाले ५७९ ग्राहकको लाइन काटेको छ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखरा ८५५, कर्णाली प्रादेशिक कार्यालय,सुर्खेत ७९५ ग्राहकको लाइन काटेको छ । सुदुरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया ११८ ग्राहकको लाइन काटेको छ ।

५ हजार ६ सय ५१ ग्राहकको लाइन जोडिएको छ । प्राधिकरणले लाइन काटेर ८ करोड ८४ लाख रुपैयाँ बक्यौता उठाएको छ । ‘लाइन नकाटी बक्यौता नै नउठ्ने अवस्था छ । लाइन काट्न थालेपछि मात्रै बक्यौता उठ्छ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले भने, ‘हामी यो वर्ष करिब १ लाख ग्राहकका लाइन काट्दैछौं ।’

प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली, २०७ ८मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।

मिटर रिडिङ भएको १६औं दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि विलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताको विद्युत लाइन जुन सुकै बेला काट्न सकिने प्रावधान छ ।

प्राधिकरणको पछिल्लो समय बक्यौता बढ्दो छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २१ अर्ब २४ करोड रुपैयाँ बक्यौतामध्ये ६ अर्ब ६० करोड रुपैयाँ उठाउने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन । तर उद्योगीहरुले भने प्राधिकरणले फर्जी बिल काटेको दाबी गर्दै आएका छन् । स्थानीय तहहरुले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिरेका छैनन् ।


क्लिकमान्डु