नाडामा अटो शोमा साढे ३ हजारभन्दा बढी कार बुकिङ, कुनको कति ?



काठमाडौं । नाडा अटो शो-२०२४ मा साढे ३ हजार युनिट कार बुकिङ भएका छन् ।

गत मंगलबारदेखि ६ दिनसम्म चलेको नाडा अटो शोमा ४ हजर भन्दा बढी सवारीसाधन बुकिङ भएको व्यवसायीहरुले बताएका छन् । उनीहरुका अनुसार इन्ट्री लेभलको ईभी कारमा सबैभन्दा धेरै आकर्षण देखिएको छ ।

बिवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ७७० युनिटभन्दा बढी बुकिङ भएको उल्लेख गरेको छ । एट्टो थ्री ४४५ युनिट र ३२५ युनिट डल्फिन बुकिङ भएको छ ।

टाटाको यो पटक ६४४ युनिट बुकिङ भएको छ । टाटाका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार पन्च ईभी ४७५ युनिट र टियागो ईभी १६९ युनिट बुकिङ भएको छ ।

चिनिया ब्राण्ड नामी ७ सय १७ युनिट बुकिङ भएको छ । आइतबार सम्पन्न नाडा अटो शोमा सबैभन्दा धेरै बुकिङ भएको गाडीमा नामी नै हो ।

नामीका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले दिएको जानकारी अनुसार सेरेसको २ सय १० युनिट बुकिङ भएको छ । यस्तै दिपालको १ सय ६५ युनिट बुकिङ भएको बताइएको छ । नामी कारका तीनवटा मोडल नेपाली बजारमा उपलब्ध छन् । ‘नामी ई’को मूल्य २९ लाख ९९ हजार रुपैयाँ, ‘नामी ई-२’ को ३१ लाख ९९ हजार र ‘नामी ई-३’ को ३४ लाख ९९ हजार रुपैयाँ पर्छ ।

जियो अटोमोबाइल्सको केई ब्राण्डका ७५ युनिट बुकिङ गरेको छ । यहि ब्राण्ड लक्ष्मी समूहको लक्ष्मी ईमोबिलिटीले पनि सयुक्त रुपमा प्रदर्शनीमा राखेको थियो । जियो अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले कतिपय ग्राहकले दोहोरो बुकिङ समेत गरेको हुन सक्ने बताए ।

कियाको राम्रो बुकिङ गएको कम्पनीको दाबी छ । कियाका लागि नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अनुसार लक्जरी सेग्मेन्टको ईभी ९ को चार वटा बुकिङ छ । यो १ करोड ८० लाख रुपैयाँपर्ने कार हो । नाडामा प्रदर्शनीमा राखिएका महँगा कारमध्ये एक हो ।

कम्पनीले सेल्टस, सोनेट,ईभी ६ लगायतका कारहरु प्रदर्शनीमा राखेको थियो ।  

हुन्डाईका १५० युनिट बुकिङ ‍भएको छ  । एममीजले १ करोड ६८ लाख रुपैयाँ पर्ने एमजी साइबरस्टर कार प्रदर्शनीमा राखेको थियो । पहिलो दिन नै कम्पनीले ल्याएका दुईवटा कार बिक्री भएपछि प्रदर्शनीबाट हटाएको थियो ।

एमजीका अन्य कारहरुको पनि राम्रो बुकिङ रहेको पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालले बताए । ‘केटाहरु कति बुकिङ भयो भने जोड्दैछन् । राम्रै छ । भरे भोलीसम्म हामी बुकिङ सार्वजनिक गर्छौं,’ उनले भने, ‘एउटै कम्पनीको ६/७ सय बुकिङ हुने गरी भीड थियो, जस्तो चाहि लागेन ।’

 स्काईवेल १२६ युनिट बुकिङ भएको छ । केहि कम्पनीहरुले भने बुकिङ खुलाएका छैनन् ।

अधिकांश ईभी बुकिङ भएका छन् । ४० लाख रुपैयाँभन्दा तलका ईभीको बढी बुकिङ भएको छ । सरकारले सहुलियत दिएका कारण नेपालमा ईभी इन्टर्नल कम्बुस्चन इन्जिन (आईसीई)  भन्दा सस्तो छ । पछिल्लो समय नेपालमा चिनियाँ ईभीको बाढी छ । सस्तो मूल्यमा विभिन्न फिचर भएका कार पाइने भएका कारण नेपाली उपभोक्ता लोभिएका हुन् । गत वर्ष नेपालमा ईभीको पेनिट्रेसन ६२ प्रतिशत थियो ।

नाडा अटो शो ८२ हजारभन्दा बढीले अवलोकन गरेका छन् ।


क्लिकमान्डु