भारतबाट ल्याइएका ५ मारवाडी परिवारले सुरु गरेको विराटनगरको व्यापारिक यात्रा

राठी परिवारका तीनै पुस्ता अध्यक्ष



विराटनगर । १११ वर्षअघि मोरङको सदरमुकाम अहिलेको विराटनगरबाट २२ किलोमिटर पूर्वको रंगेली बजार थियो । विराटनगरको नाम पनि गोग्राहा थियो । अनि त्यसबेलाको गोग्राहामा एक जना पनि मारवाडी परिवार थिएनन् । उद्योग र व्यापार हुने कुरा पनि भएन । उसबेलाको पुरानो सदरमुकाम रंगेलीमा औंलामा गन्न सकिने मारवाडी समुदायले व्यापार गर्थे ।

औद्योगिक र व्यापारिक शहरको रुपमा विराट बनेको हालको विराटनगरको इतिहास बुझेका ८८ वर्षीय विश्वराज पाण्डेका अनुसार विस १९७०/७१ मा रंगेलीबाट दुईवर्ष लगाएर सदरमुकाम गोग्राहामा सारिएको थियो । अनि बिस्तारै गोग्राहा विराटनगरमा परिणत भएपछि तत्कालीन सरकारले भारतको बिहार कुश्माबाट ल्याएका मारवाडी समुदायका पाँच परिवारले व्यापार सुरु गरेको हो । उनीहरुले विराटनगरमा व्यापार सुरु गरेपछि मुलुकका अन्य शहरमा पनि विस्तारै मारवाडी समुदायले व्यापारको सुरुवात गरेको पाण्डेको दाबी छ ।

गोग्राहा विराटनगरमा परिणत भएपछि यहाँ व्यापार सुरु भएको भए पनि रैथानेहरुले व्यापार नगरेका भने होइनन् । वरिष्ठ अधिवक्ता समेत रहेका पाण्डेले भने, ‘त्यसका लागि तत्कालीन सरकारले विसं १९७१ मा भारतको कुश्माबाट सुगनमल चाँदमल दुगड, सुरजमल चाँदमल सेठिया, वीरराज बेनचन्द नाहाटा, प्रेमचन्द छतमल लुनिया र धनराज प्रेमचन्द पारख मारवाडी समुदायका ५ परिवारलाई विराटनगर ल्याएर दुई–दुई विघा जमिन उपलब्ध गराएर व्यापार गर्न लगाएको हो ।’

भारत बिहारका मारवाडी समुदायका ५ परिवारबाट सुरु भएको व्यापार हाल फैलिएर विराटनगर औद्योगिक र व्यापारिक सहरको रुपमा रुपान्तरित भइसकेको छ । विस १९९३ मा मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स स्थापना भएपछि विराटनगरको औद्योगिक यात्रा नै सुरु भयो ।

पुराना उद्योगी ताराचन खेतान जुट मिल्सपछि बिस्तारै अरु विभिन्न खालका उद्योगहरु विस्तार भएर हाल सुनसरी–मोरङ औद्योगिक करिडर बनेको बताउँछन् । करिडोर सीमावर्ती जोगबनीदेखि सुनसरीको इटहरीसम्म करिब ३० किलोमिटर क्षेत्रमा फैलिएको छ । हाल यो करिडोरमा साना ठूला गरेर ६ सयभन्दा बढी उद्योग सञ्चालनमा छन् ।

भारतको कुश्माबाट निम्त्याइका पाँच व्यापारीले सुरुमा घोडामा सामान ओसारपसार गरेर विराटनगर र आसपासका साप्ताहिक हटियामा व्यापार गर्थे । पाण्डेकाअनुसार त्यसपछि विराटनगरमा रामलाल गोल्छा, मदनलाल चिरञ्जीवीलाल अग्रवाल, तोलाराम दुगड, मालचन भिकमचन अग्रवाल, शिवरतन राठी र कुलेश्वर चेनवालाका मारवाडी परिवारको सक्रियताले विराटनगरको व्यापार र औद्योगिक वातावरण झन् फष्टाउन थाल्यो ।

सुरुमा विराटनगरमा खाद्यान्न र जुटको कारोबार हुन्थ्यो । विस १९६८ मा भारतको फारविसगञ्जबाट जोगबनीसम्म रेलमार्ग बनेपछि भारतसँगको व्यापार बढ्दै गयो । त्यसपछि विराटनगरको व्यापार बढ्दै गयो र ६ दशकदेखि विराटनगरलाई कर्मथलो बनाउँदै आएका ८२ वर्षीय खेतान बताउँछन् ।

उनकाअनुसार पूर्वी तराईको मात्र नभएर पहाडी जिल्लाको व्यापारिक केन्द्र बन्दै गएपछि विराटनगरको व्यापार ह्वात्तै बढ्दै गएको हो । पाँच दशक पहिलासम्म यहाँ सीमित पसल र व्यापारिक गोला थिए । ‘अहिले लस्करै व्यापारिक घरानासहित थोक र किराना पसल छन्,’ उनी भन्छन् ।

तत्कालीन सरकारले विसं १९७१ मा भारतको कुश्माबाट दुगड, सेठिया, नाहाटा, लुनिया र पारख लगायतका मारवाडी परिवारलाई विराटनगर ल्याएर बसोबास गराएर व्यापार गर्न लगाएसँगै कुश्माकै राधाकृष्ण राठीले पनि विराटनगर आएर ठाकुरवाडी रोड क्षेत्रमा व्यापार सुरु गरे । अहिले उनका पनाती नन्दकिशोर राठी र खनाती अनुपम राठी व्यापार र उद्योगमा सक्रिय छन् । आजको वैभवपूर्ण विराटनगर बन्नुमा राठी परिवारको पनि योगदान छ ।

सरकारले भारतको कुश्मावाट ल्याएका मारवाडी समुदायका पाँचै परिवार यसबेला विराटनरमा अस्तित्वमा छैनन् । पुराना व्यवसायी खेतानका अनुसार उनीहरु २००७ सालयता विराटनगरबाट पलायन भए । ‘केही परिवारका सदस्य होलान्,’ खेतानले भने, ‘तर उद्योग र व्यापारमा उनीहरुको अस्तित्व यसबेला छैन ।’

विराटनगरका पुरान प्राय सबै व्यापारी र उद्योगी सुसुप्त छन् । खेतानका अनुसार उनीहरुले पछिल्ला युवापिढी र नयाँ प्रविधिसँग प्रतिष्पर्धा नै गर्न नसक्दा व्यवसायबाटै पलायन भए ।

तर, आफ्ना कुप्रा हजुबुबा राधाकृष्ण र हजुबुबा शिवरतनको पालामा घोडामा सामान बोकेर हटिया हटिया धाएर गरेको व्यापारलाई राठी परिवार भने हाल १० अर्ब भन्दा बढीको बनाएको छ । राठी परिवारले औद्योगिक क्षेत्रमा लगानी गरेर उद्योग सञ्चालन गर्दै आएको छ ।

‘विस १०७१/७२ मा कुप्राहजुरबा राधाकृष्ण र हजुरबा शिवरतन भारतको कुश्माबाट विराटनगर आएर घोडामा साप्ताहिक हटिया धाएर कपडाको व्यापार सुरु गरेको हाम्रो पारिवारिक इतिहास हो,’ राधाकृष्णका पनाती ७१ वर्षीय नन्दकिशोर राठीले क्लिकमान्डुसँग भने, ‘उहाँहरुको विरासत धान्दै आज हामी यो स्थितीमा पुगेका हौं ।’

यसबेला राठी परिवार आशकरण राठी (एकेआर) ग्रुपले चिनिन्छ । आशकरण नन्दकिशोर राठीका पिता हुन् । आफ्ना पुर्खाको इतिहास स्मरण गर्दै नन्दकिशोर भन्छन्, ‘त्यसपछि हजुरबा शिवरतनले कपडाको व्यापारसँगै विराटनगरमा पहिलो सुन पसल खोल्नुभयो । गोल्ड सिल्भर मार्ट नामको यो सुन पसल अहिले पनि अस्तित्वमा छ ।’

राठी परिवारले २००६ सालसम्म कपडाको घुम्ती व्यापार र सुनको कारोबार सँगसँगै गर्थे । तर, २००७ सालदेखि कपडाको घुम्ती व्यापारको काम छाड्यो । त्यसपछि सुनको मात्र कारोबार गरेर सुनसरीको अमडुवा र मोरङको जहदामा कृषि कर्म सुरु गर्‍यो।

कुप्रा हजुरबा राधाकृष्ण र हजुरबा शिवरतनको शेखपछि नन्दकिशोरका पिता आशकरणले २०११ देखि परिवारको विरासत सम्हालेपछि राठी परिवार व्यापारसँगै उद्योगमा लागेको पाइन्छ ।

राठी घरानाले २०२४/२५ मा यहाँका नारायणप्रसाद कोइराला, आमोदप्रसाद उपाध्याय र चिरञ्जीवी रिजालसँग मिलेर यूनाइटेड जुट प्रेस उद्योग स्थापना गरेर जुट निकासी व्यापार सुरु गरेको इतिहास छ । त्यसपछि नन्दकिशोरले कारोबार धान्न सुरु गरे । उनले २०३० मा सल्भेन्ट उद्योग स्थापना गरेर धानको राइस ब्राण्डवाट तेल निकाल्न सुरु गर्‍यो।

हाल यी दुबै उद्योग बन्द छन् । २०३३ मा राठी परिवारले मोरङको कदमाहमा ड्राइप्लान्टको पशुपति आधुनिक चामल उद्योग स्थापना गरेर चामलको निकासी व्यापार गर्‍यो ।

२०३८ सालदेखि राठी परिवार नातामा मामा पर्ने सारडा समूहसँग मिलेर उद्योग खोल्न तम्सियो । त्यसैबेलादेखि राठी ग्रुपले मुलुकमै पहिलो पशुपति खाद्य तेल उद्योग स्थापना गरेर रिफाइन तेल उत्पादन गरेर भारत निकासी गर्दै आएको छ । त्यसलगत्तै राठी परिवारले सारडा समूहसँग मिलेर पशुपति सोल्भेन्ट, स्वदेशी साबुन उद्योग र विनायक अक्सिजन उद्योग सञ्चालन गर्दै आएको छ ।

राठी ग्रुपले २०४२ सालमा निजी स्वामित्वमा पशुपति पोली पप्लिङ उद्योग स्थापना गरेर प्लाष्टिकका पोली पप्लिङसीट र झोला उत्पादन सुरु गरेसँगै रोटो ग्यावियर प्रिन्टीङ मेशिन सञ्चालनमा ल्याए लगत्तै २०५२ मा सिएम जुट मिल खोल्यो ।

यसका साथै, राठी ग्रुपले सारडा ग्रुपसँगै मिलेर पुन २०५५ सालमा सिमेन्ट र खाद्य उद्योगले प्रयोग गर्ने प्लाष्टिकका बोरा उत्पादन गर्ने ओभेन फेवरीक उद्योग र २०५७ मा न्यूट्रीफीड फ्लोर उद्योग सञ्चालनमा ल्यायो । ग्रुपले विसं २०६२ मा दिनबन्धु गोयलसँग मिलेर मारुती सिमेन्ट उद्योग पनि सञ्चालन गरेको छ ।

राठी व्यापारिक घराना राधाकृष्णबाट शिवरतन, शिवरतनबाट आशकरण, आशकरणबाट नन्दकिशोर हुँदै यसबेला अनुपमसम्म आइपुगेको छ । यसवेला अनुपमको नेतृत्वमा सेन्थेटिक कार्पेट उत्पादन गर्ने हाइटेक्स प्रालिसहित शारडा ग्रुपसँगको साझेदारीमा प्रिमियर स्टील र स्प्रिट उत्पादन गर्ने प्रिमियर अर्गेनिक ओभेन सेक उद्योग पनि सञ्चालन गर्न थालेको छ ।

एकेआर ग्रुपको औद्योगिक क्षेत्रमा एक हजार करोडभन्दा बढीको लगानी रहेको नन्दकिशोर राठीले बताए । राठी ग्रुपका उद्योगले हाल तीन हजार भन्दाबढीलाई रोजगारी दिएको छ । तत्काल कुनै नयाँ उद्योगको प्लान्ट लगाउने सोचाई नभएको भन्दै उनले अहिलेको अवस्था चुनौतीपूर्ण रहेको बताए । ‘सञ्चालनमा रहेका उद्योगलाई कसरी टिकाई रहने भन्ने चुनौती छ,’ नन्दकिशोरले क्लिकमान्डुसँग भने ।

उनका अनुसार बजारको स्थिति ठिक छैन । बजारमा तरलता छ तर प्रतिष्पर्धा पनि धेरै छ र उधारोमा सामान बिक्री गर्नुपर्ने बाध्यताले नयाँ उद्योग खोल्ने नभएर भएकालाई कसरी टिकाउने भन्ने तनाव छ ।

एकै परिवारका तीनै पुस्ता अध्यक्ष

उद्योगी व्यवसायीको मुलुककै पहिलो निजी संस्था मोरङ व्यापार संघ हाल मोरङ उद्योग व्यापार संघको अध्यक्षमा एकेआर ग्रुपबाट तीन पुस्ता नै अध्यक्ष बन्न सफल भएका छन् । २००७ सालमा स्थापना भएको यो संघमा नन्दकिशोरका बुबा आशकरण राठी २०३८ देखि २०४० सम्म अध्यक्ष रहेको थिए ।

त्यसपछि २०४९ देखि २०५१ सम्म आशकरणका छोरा नन्दकिशोर राठी मोरङ व्यापार संघको अध्यक्ष बने । त्यसबेला संघ र उद्योग संगठन मोरङ बेग्ला बेग्लै सस्था भए पनि दुवैको अध्यक्ष नन्दकिशोर राठी नै थिए । उनकै कार्यकालमा उद्योग संगठन मोरङको अलग्गै अध्यक्षको व्यवस्था गरिएको थियो ।

पछिल्लो समय मोरङ व्यापार संघको २०८१ देखि २०८३ सम्मका लागि अनुपम राठी अध्यक्ष छन् । उनी नन्दकिशोरका छोरा हुन् । मोरङ उद्योग व्यापार संघमा एकै परिवारका तीनै पुस्ते अध्यक्ष हुने राठी परिवार नै पहिलो हो ।


विनोद भण्डारी