कुनै समय यूरोपमा चामल बेच्ने राठी ग्रुप: सरकारको सौतेनी व्यवहारले अस्तित्व जोगाउनै सकस
वार्षिक पाँच अर्बको कारोबार
विराटनगर । व्यापारिक घराना राठी ग्रुपका सञ्चालक अरुणकुमार राठीले आफ्नो पूर्खा हजुरबुबाद्वय रामाकिशन-श्रीकिशन र पिता युगलकिशोर राठीले धान्दै आएको पूर्ख्यौली पेशा धान-चामलको कारोबारलाई तिरन्तरता दिएनन् ।
यो २०४३ सालतिरको कुरा हो । जति बेला उनका हजुरबुबा र पिताले झापाको गौरिगञ्जमा घनश्याम, सुनसरीको इटहरीमा आनन्द र विराटनगरमा जुगल राइस मिल सञ्चालनमा ल्याएर वार्षिक करोडौंको कारोबार गर्दै खाद्यान्न कारोबारमा अब्बल दर्ज भएका थिए । उसबेला ती राइस मिल नेपालमा नाम चलेका खाद्य मिल मध्येमा पर्थे ।
राठी ग्रुपले एसियाका देशमा मात्रै होइन, यूरोपका विभिन्न देशमा चामल निर्यात गर्थ्यो त्यसबेला । र, राठी ग्रुपको पहिलो पुस्ताले ‘राइस किङ अफ नेपाल’ को पहिचानसमेत बनाएको थियो ।
धेरेलाई थाहा नहुन सक्छ, त्यस बेला नेपालले चामल निर्यात गर्थ्यो ।
त्यतिबेला नेपालले भारतलाई १ करोड ५९ लाख ३६ हजार रुपैयाँको चामल बेच्थ्यो । त्यसवर्ष भारतसँग नेपालले २ करोड ४ लाख ८० हजार रुपैयाँको सामान किनेको थियो भने भारतलाई ४ करोड २५ लाख रुपैयाँ बराबरको सामान बेचेको थियो । तर, गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले भारतसँग २२ अर्ब २३ करोड अर्ब रुपैयाँको चामल किन्यो।
इतिहासकार फ्रेडरिक गेजका अनुसार विसं २०२२ सालमा नेपाल संसारको पाँचौं ठूलो धान निर्यात गर्ने देश थियो ।
विसं २०२५ सालमा वसुधा पत्रिकामा ‘नेपालको आर्थिक विकासमा तराईको भूमिका’ शीर्षकमा गेजले एउटा लेख लेखेका थिए । जसमा उनले सरकारी तथ्यांक उदृत लेखेका छन्, ‘सन् १९६५ मा नेपालको तराईबाट भारतमा ३ लाख ४८ हजार मेट्रिकटन धान निर्यात भएकोले त्यस वर्ष नेपाललाई विश्वको पाँचौं ठूलो धान निर्यात गर्ने देश बनायो ।’
उक्त साल तराइ-मधेसबाट धान भारत निर्यात गरेर नेपालले २३ करोड ७७ लाख ७२ हजार ६ सय ८५ भारतीय रुपैयाँ भित्र्याएको पनि इतिहासकार फ्रेडरिक गेजको लेखमा उल्लेख छ ।
यस्तै, सरकारी स्वामित्वमा ‘नेपाल धान-चामल निर्यात कम्पनी’ खडा गरिएको थियो । सरकारले नै स्वदेशभित्र कति चाहिन्छ निर्क्यौल गरी बचेको धान चामल भारत, बंगलादेशदेखि अमेरिकासम्म निर्यात गर्थ्यो । किनकि नेपालको जनसंख्या थोरै थियो र धानको उत्पादन विशेषत तराईका जनसंख्यालाई पुग्नेभन्दा निक्कै धेरै हुन्थ्यो ।
वास्तवमा त्यतिबेला नेपालको पहाडमा धान उत्पादन भए पनि आन्तरिक खपतलाई मात्र पनि नपुग्ने तर भारतको सीमा नजिक नेपालका तराईमा बढी उत्पादन भएका कारण भारततिर निर्यात भएको पाइन्छ । तराईमा उत्पादित धान पहाड पुर्याउन सडक सञ्जाल तथा बजारीकरणका लागि वितरकको समस्या जस्ता कारणले पहाडमा धानको भात खान नपाएर तराई झर्ने प्रचलन पनि त्यतिबेलादेखि नै सुरु भएको हो ।
त्यसैल उक्त समयमा नेपालका झापादेखि जनकपुर, वीरगञ्ज तथा विराटनगर जस्ता भारत नजिकका सहरमा चामल मिलहरु धेरै भएका कारण यी सहरमा छुट्टै मिल्स एसिया नै थिए । पछ बिस्तारै सबै बन्द भए ।
त्यसैले यो २०४३ सालमा जब भारतको कोलकाताबाट व्यवस्थापन संकायमा स्नातक सकेर अरुण राठी विराटनगर फर्किए । उनले पुर्खाको ब्यापारलाई निरन्तरता दिन मन गरेनन् । उनी आफ्नै बेग्लै पहिचानको खोजीमा लागे । परिवारकै सल्लाह र आर्थिक सहयोगमा उनले प्लाष्टिकको प्याकेजिङ उद्योग खोले । तर उनको पहिलो कदममै ठेस लाग्यो । त्यसबाट उनले सोचे अनुसारको आम्दानी गर्न सकेनन् । र, परिवारका बुढापाकाको सल्लाहमा डेढ करोडमा त्यो उद्योग बिक्री गरे ।
प्लाष्टिक उद्योग बिक्री गरेपछि चार दशक पहिला उनको हातमा नगद डेढ करोड पूँजी पर्यो । त्यो पूँजीलाई उनले विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगमा प्रयोग गर्ने योजना बनाए । त्यसै अनुरुप उनले बिजुली बत्तिको स्वीच र तार उत्पादन गर्ने उद्योग स्थापना गरे । उद्योगले विस्तारै राम्रो आम्दानी दिन थाल्यो । उनको उद्योगले उत्पादन गरेका बिजुली बत्तिका स्वीच र तारको बजारमा माग बढ्यो । अन्तिममा ती उत्पादन राठी स्वीच र राठी वायर ब्राण्डाम स्थापित भए, जो अहिले पनि अस्तित्वमा छन् । र, उपभोक्ताको रोजाइमा पर्दै आएका छन् ।
बिजुलीको स्वीच र तार पारिवारिक ब्राण्डका रुपमा स्थापित बनेपछि राठी परिवारमा खुशियाली छायो । त्यसपछि अरुण थप उद्योग खोल्न उत्साहित बने । यसैक्रममा उनले २०४७ तिर एडहेसीभ (फर्निचर उद्योगले प्रयोग गर्ने गम) उत्पादन गर्ने उद्योग खोले ।
त्यसको बजारीकरणका लागि एक वर्षसम्म अरुण आफैं सार्वजनिक बसमा विराटनगरदेखि नेपालगञ्जसम्मका फर्निचर उद्योगसम्म पुगे । त्यो उद्योग पनि स्थापित भयो र ब्राण्ड बन्यो ‘राठीकोल’ ।
अरुणको उद्योग खोल्ने यात्रा त्यति मै रोकिएन । त्यसपछि उनले जुन उद्योग खोले पनि राठी ब्रण्ड नै बन्यो, जस्तो कि राठी केवल, राठी बल्ब, राठी वायर आदि । पछिल्लो समय राठी ग्रुपले राठी सुपर ग्लु, राठी सिलिकोन र राठी मास्कीन टेप बजारमा ल्याएको छ ।
ग्रुपले लगानी विविधिकरण गर्दै हस्पिटालिटी, आयात निर्यात, उत्पादनमूलक, सेवा, ट्रेडिङ, लजिस्टिक बिजनेशमा सक्रिय छ। राठी ग्रुपका विभिन्न १३ वटा कम्पनी सक्रिय छन् । यी कम्पनीले विभिन्न ब्रान्डका वस्तु उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् ।
ब्राण्डको अस्तित्व जोगाउनै सकस
‘आफ्ना हरेक उद्योगबाट उत्पादित सामान अनेकन संघर्षपछि राठी ब्राण्डमा स्थापित त भए नै,’ हाल ५८ वर्षीय अरुणले क्लिकमान्डुसँग कुरा गर्दै भने, ‘तर, अब ब्राण्डको अस्तित्व जोगाउन चुनौती थपिएको छ ।’
उनकाअनुसार चर्को आन्तरिक प्रतिस्पर्धा त छँदैछ । भारत र चिनियाँ उत्पादनले पनि बजारमा अनावश्यक प्रतिस्पर्धा बढाएको छ । त्यसमाथि स्थानीय उद्योगलाई संरक्षण गर्ने सरकारको नीति नै छैन ।
‘उद्योग चले चलुन्, नचले नचलुन् जसरी भए पनि राजश्व भए पुग्यो भन्ने सरकारको नीति छ । सौतेनी व्यवहार गर्ने सरकारको नीतिले नयाँ लगानी गर्ने वातावरण नै छैन । पुरानालाई निरन्तरता दिन र ब्राण्डको अस्तित्व जोगाउनै हाल हम्मे परेको छ’ अरुण भन्छन् ।
राठी ग्रुपमा अरुण र उनका भाई श्यामसहित परिवारका ८ जना सञ्चालक सदस्य छन् । उनीहरु सबै परिवारका तेस्रा पुस्ता हुन्। यो ग्रुपले ३ वर्षयता वार्षिक सरदर ५ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ । कोरोनाअघि राठी ग्रुपको वार्षिक कारोबार साढे ६ अर्ब रुपैयाँ थियो ।
ग्रुपले गतवर्ष सरकारलाई विभिन्न शीर्षकमा ५५ करोड रुपैयाँ कर तिरेको राठी बताउँछन् ।
तर, उनले आफनो ब्राण्ड स्थापित गर्न सरकारसँगै पनि प्रतिष्पर्धा गर्नु पर्यो । भारत र चीनबाट आयात हुने कच्चा पदार्थ र तयारी वस्तुमा सरकारले समान कर लगाएर उद्योग सञ्चालन हुने वातावरण नै बनाएन । ‘तर, सरकारले १५ वर्षसम्म भारत र चीनबाट आउने कच्चा पदार्थ र तयारी वस्तुमा समान १० प्रतिशत भन्सार महसुल लगाएर दु:ख दिए पनि मुस्किलले उद्योग टिकाउन भने सफल भइयो,’ आफ्नो मेहेनत सफल भएकोमा उनी गर्व गर्छन् ।
हाल पनि असमान भन्सार नीतिका कारण स्वदेसी उत्पादन बजारमा टिकाउनै गाह्रो छ । राठीका अनुसार उनको उत्पादनको मुख्य प्रतिष्पर्धा भारतीय उत्पादनसँग छ । उनको ब्राण्डको चुनौती चाइनिज उत्पादनसँग न्यून छ ।
उनका अनुसार रोजगारी दिने र कर तिर्ने उद्योगीलाई सरकारले साझेदारका रुपमा लिनु पर्ने हो । तर यहाँ सरकारले उद्योगीलाई सौतेनी व्यवहार गर्छ, उनी गुनासो गर्छन् ।
‘सरकारको नीतिले नभएर उद्योगी र ब्राण्डको विश्वासको आधारमा उद्योग टिक्दै आएको स्थिति छ,’ उनले भने, ‘त्यसैले तत्काल थप नयाँ प्लान्ट लगाउने ग्रुपको योजना छैन । स्थापित ब्राण्डलाई कसरी बजारमा टिकाउने भन्नेमै ध्यान केन्द्रित छ ।’
आफ्नो लगानीमा खुलेका हरेका उद्योगबाट उत्पादित सामान ब्राण्डमा परिणत भएपछि अरुणले एनामेल कपर वायर, हुण्डाई इलेक्ट्रनिक्स, सेलुन टायर र एबीसी ट्रान्सफर्मर लगायत विभिन्न कम्पनीका विद्युतीय सामान र हार्डवेयर सामानको थोक बिक्रेताको कारोबार पनि सुरु गरे । हाल राठी ग्रुपका मुलुकभरी नै वितरक छन् । ग्रुपमा ८ सय मजदुर र ३ सय कर्मचारी कार्यरत छन् । ती मजदुर र कर्मचारीलाई ग्रुपले मासिक सवा दुई करोड तलव/भत्ता वितरण गर्छ ।
उद्योग र व्यापारमा मात्र राठी ग्रुप सीमित छैन । उद्योग र व्यापारवाट सम्पन्नताको भर्याङ चढदै गएपछि अरुणले विराटनगरमा शिक्षा र स्वास्थ्यमा पनि लगानी गरेका छन् । स्त्री रोग विशेषज्ञ डा ज्ञानेन्द्रमानसिंह कार्कीसँग मिलेर उनले अढाई दशक पहिला विराट नर्सिङ होम खोले । उक्त नर्सिङ होम अहिले कार्कीको एकल स्वामित्वमा छ ।
राठी ग्रुपले विशाल ग्रुप, मुन्दडा, त्रिवेणी र संघाई ग्रुपसँगको साझेदारीमा दिल्ली पब्लिक स्कुल र विशाल तथा मुन्दडा ग्रुपसँग मिलेर विराटनगरमा इस्टर्न इन्जिनियरिङ कलेज सञ्चालन गरेका छन् ।