८४ वर्षीय भिक्षुमाथि सांघातिक आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न डा. शाक्यको माग



काठमाडौं । राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले भिक्षु गुणघोष महास्थविरमाथि भएको सांघातिक आक्रमणको दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।

राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा उनले यस्तो माग गरेकी हुन् । ‘बुद्धजन्मभूमि नेपालमा, परमपूज्य संघउपनायक ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि २०८१ भदौ ६ गते बिहीबार भिमसेन टोल, धुलिखेल स्थित पूर्वाराम विहारमा राति सांघातिक आक्रमण भएको घटनाले सम्पूर्ण बौद्ध जगत लगायत मलाई पनि दुखित एवं स्तब्ध बनाएको छ । म उक्त घटनाको घोर भत्सर्ना गर्दछु,’ उहाँले भन्नुभयो, ‘नेपालको बुद्ध शासनिक क्षेत्रमा अत्यन्त सक्रिय र अन्तराष्ट्रिय रुपमा सम्मानित बौद्ध जगतमा प्रख्यात, वयोबृद्ध श्रद्धेय भिक्षु गुणघोष महास्थविरमाथि मरणासन्न हुने गरी सांघातिक आक्रमण गरिएको छ भने सुनियोजित रुपमा विहारमा लुटपाट गरिएको छ ।’

उनले उक्त घटना बौद्ध धर्माबलम्बीहरु माथि गरिएको कुकर्मको एउटा अत्यन्त क्रुर रुप भएको पनि स्मरण गराइन् । ‘यसैले यस्तो कुकर्म गर्ने क्रुर अपराधीलाई तत्कालै पक्राउ गरी हदैसम्मको सजाय दिन नेपाल सरकारका सम्बद्ध मन्त्रालय एवं सुरक्षा निकायसँग जोडदार माग गर्दछु,’ उनले भने, ‘यस प्रकारका अपराधिक घटना भविष्यमा पुनः हुन नदिन तथा श्रद्धेय भिक्षुगणहरुको जिउ–धनको सुरक्षाको यथोचित उपाय समेत अवलम्बन गर्न गराउन तथा बौद्ध विहारहरुको सुरक्षा गर्न समेत नेपाल सरकारसँग जोडदार माग गर्दै गम्भीर घाइते हुनु भएका संघ उपनायक श्रद्धेय भिक्षु गुणघोष महास्थविरको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।’

ललितपुर निवासी भिक्षु गुणघोष महास्थविर करीब ४५ वर्षदेखि सोही विहारमा बस्दै आएकी थिइन् ।


क्लिकमान्डु