बजार हिस्सामा अग्रणी बुध्द एयर उड्डयन सुरक्षामा अब्बल, यसरी पर्‍यो यात्रुको पहिलो रोजाइमा



काठमाडौं । नेपाली आकासमा २७ वर्षदेखि सेवा दिइरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी बुध्द एयर यात्रु उडानमा मात्रै अग्रणी नभएर हवाई उड्डयन सुरक्षामासमेत अब्बल बनेको छ । यो वायुसेवाप्रति यात्रुको विश्वास, पर्याप्त जहाज संख्या, फरक-फरक गन्तव्यमा सेवा र यात्रुले रोजेकै समयमा उडान गर्न सकिने गरी यो वायुसेवाले दिएको यात्रु सुविधासहितका कारण पछिल्लो दुई दशकदेखि नै बुध्द एयर आन्तरिक उडानमा अब्बल बन्दै आएको छ ।

बुध्दसँग भएका १८ वटा जहाज, यात्रुकै चाहनाअनुसार बिहानैदेखि रात्रीकालीन उडानसम्मको सेवा, हवाई उडानमा ‘बाइ द बुक्स’मा मात्रै हिँड्ने र हवाई सुरक्षामा कुनै पनि सम्झौता नगेरका कारण पनि यात्रु उडानसँगै उड्डयन सुरक्षा प्रणालीमासमेत अग्रणी हुन सकिएको बुध्द एयरका अधिकारीहरु बताउँछन् ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०२३ मा गरेको उड्डयन सुरक्षा अडिटमा यो वायुसेवाको अवस्था अन्यसँगको तुलनामा अब्बल देखिएको छ । प्राधिकरणले गरेको सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) दर बुध्द एयरको ७७ प्रतिशत देखिएको छ । यस्तो उड्डयन सुरक्षा प्रणाली दर नेपालमा सञ्चालन भइरहेका अरु आन्तरिक वायुसेवाको तुलनामा सबैभन्दा बढी हो ।

अरु वायुसेवाले ६६ प्रतिशतसम्म मात्रै उड्डयन सुरक्षा प्रणाली दर पाउँदा बुध्दले भने ७७ प्रतिशतभन्दा बढी पाउनुले पनि सेवा सुविधामा अब्बल भएको नागरिक उड्डयन प्राधिकरणको अडिट रिपोर्टमा उल्लेख छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल यस्तो सुरक्षा व्यवस्थापन दर गत वर्षकै भए पनि बुध्द एयर अरु वायुसेवाको तुलनामा अगाडि छ । उड्डयन प्राधिकरणले पछिल्लो समय गरेको एसएमएस अडिटमा ६० प्रतिशतभन्दा कम दर पाउने वायुसेवालाई ग्राउण्डेड गर्ने कार्यविधि नै बनाएको पनि भुलले जानकारी दिए । उनकाअनुसार अन्य आन्तरिक वायुसेवाको तुलनामा बुध्द एयरको उड्डयन सुरक्षा प्रणाली अब्बल देखिएको छ। यस्तो सुरक्षा प्रणालीमा जसले तोकिएको मापदण्ड पालना गर्छ उसैको राम्रो हुँदै जाने उनले बताए ।

बुध्द यसरी बन्यो उड्डयन सुरक्षामा अब्बल

तोकिएको उड्डयन सुरक्षा मापदण्डलाई अक्षरस पालना गर्ने प्रयास गरेको र यात्रु सेवा तथा उड्डयन सुरक्षामा कुनै पनि सम्झौता गरेका कारण यसले बुध्दलाई उडान सुरक्षा प्रणालीमा अब्बल बनाउन सहयोग गरेको हो ।

बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत यो वायुसेवाले उड्डयन सुरक्षामा अब्बल देखिनुमा जनशक्तिलाई दिने नियमित तालिम र जहाजको नियमित मर्मत सम्भार भएको बताउँछन् ।

‘टेक्निकल साउण्डका जहाज, ट्रेनिङमा नियमित ध्यान दिएको र यात्रु उडान सुरक्षामा कुनै सम्झौता नगरी उड्डयन सुरक्षा मापदण्डहरु पालना गर्दै जाँदा तुलनात्मक रुपमा उड्डयन सेफ्टिमा बुध्द एयर अब्बल देखिएको हो,’ बस्नेतले क्लिकमान्डुसँग भने।

तर, बस्नेतले प्राधिकरणक सेफ्टी अडिटमा भने चित्त बुझाएनन् । बुध्द एयरको सुरक्षा व्यवस्थापन प्रणाली ९० प्रतिशतभन्दा माथि पुगेको उनी बताउँछन् ।

‘बुध्द एयरको सुरक्षा ब्यवस्थापन प्रणाली ९० प्रतिशतभन्दा माथि नै पुगिसकेको छ,’ उनले भने ।

प्राधिकरणले सार्वजनिक गरेको गत वर्षको तथ्यांमा धेरै सुधार भइसकेकोले यसको उड्डयन सुरक्षामा थप सुधार आएको दाबी बस्नेतको छ ।

‘बुध्दले उड्डयन सुरक्षामा कुनै सम्झौता गरेको छैनौं,’ बस्नेतले भने, ‘पालना गर्नुपर्ने सबै नियम पालना भएकोले सन् २०२४ मा हुने परीक्षणबाट थप सुधारका संकेत देखिने छ।’ उनले कुनै विमानमा देखिएको प्राविधिक समस्याका कारण केही कम नम्बर आएको बताए ।

क्याप्टेनले ५० घण्टाभन्दा बढी उड्न नपाउने एउटा शर्तमा आएको ३० मार्कको कारण सेफ्टी अडिटको कुल नम्बर कम भएको उनले भनाइ छ ।

‘कर्पोरेट सेफ्टी डिपार्टमेन्टमा प्रमुखमा क्याप्टेन रहेका छन् । ती क्याप्टेनले ५० घण्टाभन्दा बढी उड्न नपाउने एउटा शर्तमा कम नम्बर आएको थियो,’ बस्नेतले भने ।

बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत

बुध्द एयरले उड्डयन सुरक्षामा सुधार गर्दै निकट भविष्यमै सेफ्टी अडिटमा ८५ भन्दा माथि ९०/९५ प्रतिशतकै हाराहारीमा एसएमएस दर पाउने विश्वास पनि बस्नेतको छ ।

बस्नेत सेफ्टीमा पनि जहाज टेक्निकल्ली साउण्ड हुनुपर्ने तर्क गर्दै भन्छन्, ‘हाम्रो मेन्टिनेन्स गर्ने पनि सबै आआफ्नै प्रक्रिया छ । जहाज उडेपछि त्यसको निश्चित समयमा गर्नुपर्ने मेन्टिनेन्समा कहिल्यै कम्प्रमाइज गरिएको छैन,’ उनले थपे, ‘सर्वसाधारणलाई जहाजको विषयमा धेरै थाहा हुँदैन । त्यसका लागि कस्तो जहाजमा उडिरेहेको छु भन्ने विषयको प्राविधिक पक्षको समेत जानकारी दिनुपर्छ भनेर हामीले सामाजिक सञ्जालमा सेफ्टी क्याम्पेन चलाएका छौं । जसले गर्दा यात्रुलेसमेत विश्वस्त भएर बुध्द एयरको जहाजमा उड्न सक्नेछन् ।’

जहाजमा सानोतिनो मर्मतको निकै महत्त्वपूर्ण भूमिका हुने तर्क गर्दै बस्नेत मेन्टिनेन्स सुस्त र दुरुस्त बनाउन बुध्द एयर सधै प्रतिबद्ध भएको बताउँछन् ।

‘अहिलेसम्म जे जति हवाई दुर्घटना भएका छन् । ती सबै अधिकांश मानवीय त्रुटीका कारण भँएका छन्,’ बस्नेतले भने, ‘जहाज उडानमा पाइलटले गरेको कमजोरीले भएको दुर्घटना सबैभन्दा बढी भएको हालसम्म भएका हवाई दुर्घटनाको जाँच प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले अधिकांशमा मानवीय त्रुटी नै औंल्याएको छ ।’

अहिलेसम्म जति दुर्घटना भएका छन् त्यसमा प्राविधिक कारण न्यून भएको उनले बताए । पाइलटका कारण हुने दुर्घटना न्यूनीकरण गर्न पाइलट तालिमलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यतालाई स्थापना कालदेखि नै बुध्द एयरले कडाइका साथ पालना गरिरहेको पनि उल्लेख गरेको छ ।

यो वायुसेवाले सेफ्टीमा दिएको ध्यानसँगै तालिममा कुनै कमी कमजोरी हुन नदिएको दाबी बुध्द एयरको छ । पाइलटको तालिम नपुग्दा, पाइलटमाथिको जहाज उडानको दबाब र थकानका कारण पनि हवाई दुर्घटना हुने गरेकोले यो विषयलाई विशेष ध्यान दिइएको पनि बुध्द एयरको भनाइ छ ।

बुध्द एयरले जहाजको मर्मत संभारका लागि २००८ देखि नै विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट ऋण लिएर ह्यांगर बनाएको छ । यो ह्यांगर दक्षिण पूर्वकै उत्कृष्ट भएको उपाधिसमेत हात पारिसकेको छ ।

बुद्धको ह्यांगरभित्र ठूलो एयरवसकै जहाज अट्ने क्षमता छ भने यसले आफ्ना सबै जहाज मर्मत यही ह्यांगरमै गर्छ । याे ह्यांगरमा २२ मिलियन युएस डलरका जगेडा पार्टपूर्जासमेत रहेकाे छ । यसले मर्मतसम्भार तालिकालाई थप सजिलाे बनाउने छ ।

बुद्धसँग भएका १८ वटा जहाजमध्ये सबै जहाज एकैपटक उडानमा नल्याउने र दैनिक एकदेखि २ वटासम्म जहाजलाई आकस्मिक प्रयोजन तथा भैपरी आउने उडानमा लगाउने गरी उडान तालिका बनाउने गरेको छ ।

यो वायुसेवाले सधै जहाज जगेडामा राखेर उडान गर्ने गरेका कारण नै कुनै पनि प्राविधिक कारण हुन नसकेको उडानका यात्रुलाई तत्कालै अर्को जहाजबाट सेवा दिन सकिरहेको बुध्द एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।

‘जगेडा पाटपूर्जा र यसैलाई दृष्टिगत गरेर बनाउने उडान तालिकाकै कारण कुनै पनि गन्तव्यमा यात्रुको गुनासो नआउने गरी काम गरिरहेको छौं,’ कर्णले भने ।

बुध्द एयर नेपाली वायुसेवामा धेरै कर्मचारीबाट सेवा दिने र जहाज मर्मतमा अधिकांश कर्मचारीलाई खटाउने वायुसेवा पनि हो । बुध्दमा रहेका १ हजार ४५७ जना कर्मचारीमध्ये २२० जना प्राविधिकमात्रै छन् । बुध्दसँग भएका कर्मचारीमा १३८ जना पाइलट, ११९ एयर होस्टेज, ४६ जना कर्पोरेट कर्मचारी छन् । मार्केटिङ विभागमा साढे ६ सय कर्मचारी छन् भने अपरेसन विभागमा ३०३ जना छन् । बुध्द एयरका कुल कर्मचारीमध्ये आधा हिस्सा ह्यांगरमा मात्रै खटिने गरेका छन् ।

बुध्दका यी जनशक्तिले जहाजको नियमित तालिका बनाउने, मर्मतसंभार गर्ने, सधैंभरी मोनिटरिङ गर्ने, उडान अवतरणको फ्लाइट डाटा मोनिटरिङ विभागमार्फत निगरानी राख्ने काम गर्छन् । फ्लाइट अडिट गर्ने, क्वालिटी एसुरेन्स गर्ने, वर्कसपमा आफ्ना मात्रै नभएर अरु आन्तरिक र बाह्य एयरलाइन्सलाई पनि सेवा दिने काम बुध्द एयरले गर्दै आएको छ ।

बुध्दसँग भएको ह्यांगरको क्षमता र उच्च दक्ष जनशक्तिका कारण आफ्ना जहाजमात्रै नभएर अरु वायुसेवाको पनि मर्मत गर्ने गरेको छ । बुध्दको ह्यांगरमा काम गर्ने अब्बल प्राविधिक जनशक्ति र प्रविधिसँग भएको अभ्यस्त कार्यलाई विश्वास गरेरै विदेशी वायुसेवाले समेत यसको ह्यांगरमा जहाज मर्मत गर्न पत्याएका छन् । यो ह्यांगरमा जहाजको मर्मत संभारका सबै काम हुन्छ ।

बुध्दले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बनाएको यही ह्यांगरमा जहाजको सम्पूर्ण मर्मत हुन्छ । उत्कृष्टसेवा र अन्तर्राष्ट्रिय प्रविधिको प्रयोगबाट दिइएको सेवाकै कराण बुध्दको ह्यांगरमा विदशी वायुसेवाले समेत मर्मतसंभार गर्न आउँन सक्छन् । बुध्दको ह्यांगरमा यस अघि बंगलादेशबाट समेत जहाजको मर्मत सम्भार गर्न आउने गरेको थियो ।

पछिल्लो समय नेपाल सरकारले हवाई उडानका पाटपूर्जा महंगो बनाइदिएको र कर प्रणालीकै कारण विदेशी वायुसेवा नेपालमा मर्मत संभारमा रुची देखाउन छोडेका छन् । यी बाहेक यो वायुसेवाले हरेक ६ महिनामा पाइलटको सिमुलेटर तालिम गराउने, अब्बल मर्मत सभार गर्ने, जनशक्तिलाई आवश्यकता अनुसारको तालिम दिने सहित यो वायुसेवा बाइ द बुक्स हिँड्ने कम्पनी हुनुले पनि यसको उडान सुरक्षामा अब्बल भएको दाबी कर्णको छ ।

बुद्ध एयरले उडानलाई थप सुरक्षित गर्न सधैं प्रतिवद्ध भएको र सधैं सुरक्षित अवतरण गर्न तत्पर हुने पनि कम्पनी हो । ‘जहाज उडानका क्रममा आउने सामान्य सिद्धान्तलाई भयानक बनाएर मिडियाले प्रस्तुत गरिरहेको हुन्छ,’ कर्णले भने, ‘जहाजले आकस्मिक अवतरण गर्नु सामान्य प्रक्रिया हो । यसलाई सम्बन्धित विमानस्थलमा डाइभर्ट गरेर सुरक्षित अवतरण गराउने काम गरिएको हुन्छ ।’

आकस्मिक अवतरण, ओभरसुट, डाइभर्ट, फोर्स ल्याण्डिङ गर्नु भनेको जहाजको सुरक्षित अवतरण गराउने सामान्य प्रक्रिया भएको उनी बताउँछन् ।

‘सुरक्षित अवतरण गराउने विषयमा बुध्द एयरले कहिल्यै कसैसँग पनि सम्झौता गर्दैन । थप सुरक्षित हुने गरी अवतरण गर्ने विषयलाई बढी जोड दिइरहेको हुन्छ । कुनै पनि एयरलाइन्सले कुनै कमजोरी गर्ने गरी उडान पनि गर्दैन्’ कर्णले भने ।

बाइ द बुक्स हिँडिरहेको वायुसेवा सधै सुरक्षित हुने उनको भनाइ छ ।

आन्तरिक उडानमा बुध्द एयरको प्रवेश

आक्रामक बजार बिस्तारसँगै हाल १८ वटा जहाजले उडान गरिरहेको यो वायुसेवाले आगामी १ महिनाभित्र अर्को एउटा जहाज थप गर्ने भएको छ । हाल १५ वटा एटीआरका ७२ सिट क्षमताका जहाज भएको यो वायुसेवासँग ३ वटा ४७ सिट क्षमताका एटीआर नै जहाज छन् ।

सन् १९९७ को अक्टोबर ११ मा १९ सिट क्षमताको १९०० डी नामक जहाजबाट सेवा सुरु गरेको यो वायुसेवाले अहिले साना सबै जहाज विस्थापित गरेर आन्तरिकमा ठूला जहाजको प्रयोग बढाउँदै लगेको छ ।

सन् १९९६ बाट सेवा सुरु गरेको यो वायुसेवाले आन्तरिक उडानमा प्रमुख सहरी गन्तव्यमा उडान गरिरहेको छ । यसले काठमाडौंबाट भारतको वनारसमा नियमित उडान गरिरहेको छ । जनकपुरबाट अयोध्या उडानको तयारी गरिरहेको बुध्द एयरले पोखराबाट दिल्ली उडान गर्ने अनुमतिको पखाईमा बसेको छ ।

बुध्द एयरले भने उडान सुरु गरेको पहिलो वर्षमै ३ वटा जहाज बनाएर प्रतिस्पर्धी वायुसेवालाई टक्कर दिएको थियो । छोटो समयमा आन्तरिकमा अग्रणी बनेको यो वायुसेवाले लामो समयदेखि यात्रुको विश्वास जित्न सकेकै कारण यात्रु सेवा र उड्डयन सुरक्षा दुबैमा अब्बल बनिरहेको छ ।

बुध्द एयर स्थापनाको पहिलो एक दशक दशकसम्म अरु नै वायुसेवाले अग्रणी स्थान लिएका थिए । बुध्दको आक्रामक बजार विस्तार र प्रतिस्पर्धीको खुम्चँदै गएको सेवाको कारण बुध्द एयर आन्तरिक उडानमा ६२ प्रतिशतको बजार हिस्सा बनाउने कम्पनी भएको नेपाल नागरिक उड्डयन प्राधिकणरले सार्वजनिक गरेको सन् २०२३ को हवाई उडानको तथ्यांकले देखाएको छ ।

स्थापनाकालदेखि बुध्दले ब्राण्डिङलाई प्राथमिकता दिएका कारण त्यसको लाभ अहिले पाउन थालेको छ । २६ वर्षअघि पर्वतीय उडानबाट सेवा सुरु गरेको बुध्दको पहिलो सेड्युल उडान काठमाडौं-पोखरा थियो । भैरहवा र विराटनगर हुँदै गन्तव्य विस्तार गर्दै गएको बुध्द एयर अहिले पनि सहरी क्षेत्रका विमानस्थल (ट्रंक रुटमा)मा सेवा दिने अग्रणी वायुसेवा हो ।

४७ सिटको एटीआर भित्र्याएको एक वर्षपछि (सन् २०१० मा) बुध्दले ७२ सिट क्षमताको एटीआर ७२ जहाज ल्याएको थियो । त्यसपछि ७२ सिट क्षमताकै जहाजलाई प्राथमिकता दियो । जसका कारण यो वायुसेवासँग आन्तरिक उडानमा सबैभन्दा धेरै जहाज भएको वायुसेवा कम्पनी बन्न सफल भएको छ ।

बजारको आवश्यकताअनुसार जहाज थप गर्दै गएकै कारण र यात्रुको रुचीअनुसार उडान सहजीकरण गर्न सकेका कारण गत वर्ष सन् २०२३ मा यसले २५ लाख ७७ हजारलाई सेवा दिएको छ । पछिल्लो एक वर्षमा यो वायुसेवामार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रने यात्रु १२ लाख ९१ हजार र बाहिरिनेको संख्या १२ लाख ८६ हजार छ । यसले औषतमा दैनिक ८ हजार यात्रुलाई सेवा दिइरहेको छ ।

कोरोना महामारीअघि सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको बुध्द एयरले सन् २०२३ मा आम्दानीलाई दोब्बर बनाउँदै १२ अर्ब १६ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ ।

सन् २०१८ मा बुध्द एयर एक्लैले १३ लाख २५ हजार यात्रु ओसारपसार गरेर ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानी सन् २०२३ मा दोब्बर बनाएर १२ अर्ब १६ करोड रुपैयाँ बनाउन सफल भएको छ । सन् २०२४ को पहिलो तीन महिनामै बुध्द एयरको आम्दानी ३ अर्ब ८३ करोड रुपयाँ भएको यो वायुसेवाले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ ।

पछिल्लो समय बढ्दै गएको यात्रुसेवा र जहाज संख्याका हिसाबले सन् २०२४ मा यसले ३० लाख यात्रु पुर्याएर एकैवर्ष १५ अर्ब रुपैयाँ कारोबारको लक्ष्य अगाडि सारेको छ।

बुध्द एयरको आफ्नो कारोबार त अर्बौं रुपैयाँको छ नै, राज्यलाई यो कम्पनीले करोडौं रुपैयाँ कर तिरेको छ । बुध्द एयरले गत वर्ष सन् २०२३ मा मात्रै वार्षिक ९४ करोड रुपैयाँ कर तिरेको छ । यसमध्ये प्रत्यक्ष ५ करोड छ भने अप्रत्यक्ष कर ८९ करोड रुपैयाँ रहेको छ । यात्रु उडान, जहाज संख्या र क्षमता बढेको कारण सन् २०२४ मा यसको यात्रु उडान र कारोबार रकम उल्लेख्य मात्रमा बढ्ने विश्वास बुध्द एयरको छ ।


राजु बास्कोटा