नाडा अटो शोमा कन्टिनेन्टल ट्रेडिङको किया ईभी-९ मुख्य आकर्षण, कुन-कुन गाडी राख्दैछ प्रदर्शनीमा ?

'गाडी कमोडीटी होइन, ईभीमा करेक्सन आउँछ'



काठमाडौं । नाडा अटो शो-२०२४ मा किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चारवटा गाडी प्रदर्शनीमा राख्ने भएको छ ।

कम्पनीले मूख्य आकर्षणका रुपमा ईभी-९लाई प्रदर्शनीमा राख्न लागेको छ । यो हाइ रेन्जको गाडीको मूल्य १ करोड ८० लाख रुपैयाँ पर्छ । फुल चार्जमा साढे चार सय किमी रेन्ज दिन्छ । सिंगल मोटरमा नेपालमा आयात भएको छ । यो फुल एसयुभी गाडी हो ।

 कम्पनीले यो गाडी भित्र्याएर बिक्री थालिसकेको छ । पहिलो लटमा १० वटा कार ल्याएर बिक्री गरिसकेको छ। ८ वटा बिक्री भइसकेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरे बताए । घिमिरेका अनुसार यो गाडी चढ्ने ग्राहकहरुको प्रतिक्रिया राम्रो छ ।

कम्पनीले यो कारसँगै सेल्ट्स र सोनेटको २०२४ को अपग्रेड भर्सन पनि प्रदर्शनीमा राख्न लागेको छ । सेल्ट्स नेपाली बजारमा रुचाईएको कार हो ।  

‘नाडा अटो शोमा ईभी ल्याउन खोजेको थियौं । १०० किलोवाटभन्दा तल ल्याउन खोजेका थियौं, त्यो भएन । कहिले १०० किलोवाट आउँछ भन्ने निश्चित भएन,’ घिमिरेले क्लिकमान्डुसँग भने, ‘त्यसकारण अलि पछि परे जस्तो देखिएको होला ।’

कम्पनीले ईभी-६ पनि प्रदर्शनीमा राख्न लागेको छ ।  उनका अनुसार यो विश्वभरी नाम कमाएको स्पोर्टस कार हो ।

‘गाडी कमोडीटी होइन, इन्जिनियरिङ प्रोडक्ट हो’

अहिले नेपालमा चिनियाँ ईभीको बाढी छ । नेपालमा मापदण्ड नभएका कारण जथाभावी गाडीहरु आयात भइरहेको घिमिरे बताउँछन् । संसारमै सबैभन्दा बढी ईभीको पेनिट्रेसन भएको देश नेपाल हो । त्यसमा चिनियाँ उत्पादनको प्रभुत्व छ ।

‘भोली यसले के के समस्या ल्याउँछ,’ घिमिरेले भने, ‘कति वर्षसम्म टिक्छ त त्यसको  दिगोपनामा समस्या छ ।’

उनका अनुसार नेपालमा दुई खालका गाडी व्यवसायीहरु छन् । एक खालका व्यवसायीहरु लाइफ साइकल मेन्टेन गरेर, सर्भिसिङ दिएर, बेचेका गाडीको जिम्मा लिएर बसेका छन् ।

‘उनीहरु स्टेबल ब्राण्ड भए । अर्का चाहि कमोडिटी बेचे जस्ता व्यवसायी छन् । चिनी बेचेजस्तो चामल बेचे जस्तो । बेच्यो पैसा कमायो सकियो,’ उनले भने, ‘हामी व्यापार गर्ने मान्छेले बुझ्नुपर्छ । हामी कमोडिटी बेचिरहेको हो की इन्जिनियरिङ प्रोडक्ट । इन्जिनियरिङ प्रोडक्टमा के हुन्छ भने मैले कुनै प्रोडक्ट बेचे भने त्यसपछि समस्या सुरु हुन्छ । समस्या सकिएको होइन । ‘

सुहृत घिमिरे

‘उदाहरणका लागि कमोडिटीमा पाँच किलो चामल बेचेपछि सकियो । मिठो भयो भने ग्राहक किन्न आउँछन्, भएन भने अर्को पसलमा जान्छन् । बेच्नेको त्यो चामलप्रति लायाबिलिटी छैन ।  इन्जिनियरिङ प्रोडक्टमा ४०-५० वर्षसम्म त्यो उत्पादनको टेक केयर गर्ने जिम्मा कम्पनीको हुनुपर्छ ।’ उनले भने ।

घिमिरेले सयौं ब्राण्ड बेचिदिन आग्रह गर्दै विभिन्न कम्पनीहरु आएको दाबी गरे ।

‘हामीले राम्रो सर्भिस दिइरहेका  छौं । पाएको ब्राण्ड नाममा खराब गरेका छैनौं । हामी कहाँ प्रोडक्ट नआउने कुरै भएन । त्यो प्रोडक्टले लाइफसाइकल मेनटेन  गर्न सक्छ कि सक्दैन ?,’ उनले भने- ‘फेल हुँदै जान्छ नयाँ नयाँ प्रोडक्ट लिँदै १० वटा ब्राण्ड लिने प्रवृत्ति छ । आजै नाफा बुक गरिहालौं भन्नेछ । मारुती, हुन्डाइ, किया, टोयोटा किन जथाभावी गएन ? जथाभावी ल्याए हाम्रो कम्पनीलाई असर गर्छ, भएको ब्राण्ड बिग्रन्छ ।’

 उनका अनुसार सबै चिनियाँ ब्राण्डहरु राम्रा छैनन् । ७०/८० करोड रुपैयाँ स्टक राख्दासमेत पार्टस् पुर्‍याउन गाह्रो हुन्छ  । नेपालमा भीडमा दौडने कल्चर छ । उनका अनुसार सेल्टस, सोनेट कारहरु ४/५ वर्ष चढेर ६०/७० प्रतिशतमा मूल्यमा आरामले बिकिरहेको छन् । ईभीका गाडीहरुको मूल्य चढेको एक वर्षमै ५० प्रतिशतभन्दा तल झर्छ । भीडमा लागेर फस्न नहुने उनको भनाइ छ ।

‘ईभीमा करेक्सन आउँछ’

घिमिरेले ईभी बजारमा करेक्सन आउने बताए । हामी जुन हिसाबले अहिले ईभीमा गइरहेका छौं । त्यहाबाट फर्किने कुरामा विश्वास गर्दिन तर करेक्सन पक्कै आउँछ,’ उनले भने, ‘अहिलेको जस्तो नभई ईभी र आइसीइको हिस्सा ५०/५० प्रतिशत हुन्छ ।’

उनका अनुसार ईभी चढिरहेका ग्राहकहरु फिर्ता गरेर आइसीइ गाडी नै चढ्ने भन्दै बुझ्न आउन थालेका छन् । ग्राहकहरुमा ईभीप्रति केहि एन्जाइटी देखिएको छ ।

अहिले ईभीको पार्ट्सहरु नपाउने र पाइहाले पनि  अत्यन्त महँगो पर्ने गुनासोहरु बढ्न थालेको छ । घिमिरेले नेपाल चिनियाँ गाडीको डम्पिङ साईट बनिरहेको छ ।

‘आइसीईभन्दा ईभी सस्तो नेपालमा नै हो । संसारभरी नै ईभी महँगो छ,’उनले भने ।

घिमिरेका अनुसार कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज २००० हजार गाडी बेच्ने कम्पनी अहिले २/३ सयमा झरेको छ ।  नाडा अटो शो ले उत्साह ल्याउने उनको विश्वास छ ।


दिनेश खड्का