लगातारको वर्षापछि गौरीघाटमा बागमतीले सतर्कता तह पार गर्‍यो, कुन नदीको अवस्था कस्तो ?



काठमाडौं । निरन्तरको वर्षासँगै बागमती नदीले सतर्कता पार गरेको छ । काठमाडौंस्थित बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र बढ्दो अवस्थामा रहेको र महाकाली नदी पारीगाँउमा जलसतह सतर्कता तह नजिक रहेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, कास्की, पर्वत, बागलुङ, म्यादी, बर्दिया, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपास भइ बहने अधिकांश स-साना बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको मध्यम जोखिम रहेको जनाएको छ।

साथै सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, सर्लाही, रौतहट, गोरखा, लमजुङ, रूकुम पश्चिम, जाजरकोट, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने अनुमान रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।


क्लिकमान्डु