चार जिल्लामा १ अर्ब रुपैयाँको ८५ योजना सम्पन्न, दमकको भ्यु टावर निर्माण गर्न डेढ अर्ब खर्च



झापा । सघन सहरी तथा भवन निर्माण आयोजना झापाले गत आव २०८०/८१ मा करिब १ अर्ब रुपैयाँको लागतमा ८५ वटा योजना सम्पन्न गरेको छ ।

आयोजनाको लागि गत आर्थिक बर्षमा एक अर्ब १८ करोड १६ लाख रुपैयाँ बिनियोजन गरिएको थियो । त्यसमध्ये ९९ करोड ६७ लाख १९ हजार खर्च गरेर ८५ वटा योजना सम्पन्न भएको छ ।

आयोजनाले ८४.३५ प्रतिशत वित्तीय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापा कार्यक्षेत्र रहेको आयोजनाका एक सय नौमध्ये ८५ वटा योजना सम्पन्न भएका छन् ।

‘आयोजनाअन्तर्गत सघन सहरी विकास कार्यक्रम, भवन निर्माण संहिता, नयाँ सहर आयोजना, एकीकृत बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार, कारागार व्यवस्थान विभाग, सङ्घीय सहरी विकास, एकीकृत कार्यमूलक योजना र आवास व्यवस्था कार्यक्रम गरी नौ वटा योजना सञ्चालनमा छन्’, उनले भने ।

भवन निर्माण संहिताअन्तर्गत गत आवमा दमकको भ्यूटावर एक अर्ब ४५ करोड ७४ लाख रुपैयाँमा सम्पन्न भएको छ । एकीकृत स्वास्थ्य पूर्वाधारअन्तर्गत गत आवमा नै पाँचथरको फिदिममा लुङरुपा आयुर्वेद औषधालय दुई करोड २४ लाख रुपैयाँको लागतमा सम्पन्न भएको छ ।

यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ७.९ किलोमिटर सडक कालोपत्र, चार किमी ढलान, १० किमी ग्राभेल र १० किमी नाला निर्माण सम्पन्न भएको छ । त्यस्तै आयआर्जन हुने पूवाधार निर्माणमा पशुपतिनगर बसपार्क, कन्याम उद्यानमा पर्खाल, महावीर उद्यान, पपोहाँग लावती स्मृतिपार्क, अन्तु पोखरी, कृषिउपज सङ्कलन केन्द्रलगायत योजना निर्माणाधीन रहेका लेखा अधिकृत रिजालले जानकारी दिए ।


क्लिकमान्डु