चुरोटको मौलाउँदो तस्करीका माझ पनि सूर्य नेपालले एकैवर्षमा गर्यो २९ अर्बको व्यापार



काठमाडौं । सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्ने सूर्य नेपाल प्रालिको व्यापार बढेको छ । कम्पनीको व्यापार अघिल्लो वर्षको तुलनामा ७.३१ प्रतिशतले बढेको हो। रकममा भने झन्डै २ अर्बले बढेको छ ।

सूर्य नेपालले सन् २०२३ मा २८ अर्ब ९९ करोडको व्यापार गरेको हो । सन् २०२२ मा कम्पनीले २७ अर्ब १ करोड ४० लाखको व्यापार गरेको थियो ।

सन् १९८६ मा खुलेको कम्पनीको व्यापार कोभिड महामारीका वर्षहरुमा निरन्तर बढ्दै गएको थियो । सन् २०२१ मा कम्पनीले २४ अर्ब ४९ करोड २० लाखको व्यापार गरेको थियो ।

कोभिड महामारीभन्दा अघि नै २५ अर्ब बढीको व्यापार गरिरहेको कम्पनीको व्यापार कोभिड पछि अर्थात् सन् २०२१ मा केही गिरावट आएको थियो । सन् २०१९ मा कम्पनीले २५ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यसअघि सन् २०१८ मा २४ अर्ब २२ करोड ८० लाख र सन् २०१७ मा सूर्य नेपालले २१ अर्ब ७३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो।

देशकै ठूलामध्ये एक, बढी कर तिर्ने तथा चुरोट बजारमा एकछत्र राज गरिरहेको सूर्य नेपालमा भारतीय कम्पनी आईटीसी लिमिटेडको ५९ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै ३९ प्रतिशत सेयर नेपालका लगानीकर्ता र बाँकी २ प्रतिशत सेयर बेलायती कम्पनी ब्रिटिश अमेरिकन टोब्याको (इन्भेस्टमेन्ट्स)को छ । यो कम्पनीले सुर्तीजन्य पदार्थका साथै अगरबत्ती, सलाई र चकलेटजस्ता उत्पादन पनि गर्दै आएको छ ।

सूर्य नेपालले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन ऋण लिएको छैन र अल्पकालीन प्रकृतिको चालु पुँजी कर्जा लिएको छ । कम्पनीले हाल भने ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंक कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्य नेपाललाई कर्जाका लागि ए वान प्लस रेटिङ दिएको छ।

सूर्य नेपालले आधा दर्जन बढी ब्राण्डका चुरोट उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । सूर्य लिजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी किंग्स, शिखर फिल्टर किंग्स, शिखर आइस रश, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, सूर्य फ्युजन, स्ट्राइकर स्पाइस रश, बिजुली र चौतारी ब्राण्डका चुरोट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । देशभर कम्पनीका १०० भन्दा बढी वितरक छन् भने सूर्य नेपालका उत्पादन देशका अधिकांश खुद्रा पसलमा उपलब्ध छन् ।

कारोबार आकारको तुलनामा ऋणको हिस्सा न्यून रहँदा कम्पनीले राम्रो नाफा गर्न सफल भएको छ । सन् २०२० को केयर नेपालको रिपोर्ट अनुसार कम्पनीले कारोबारको ४० प्रतिशत नाफा कमाएको देखाउँछ । सोही दरको नाफा रहेको अवस्थामा कम्पनीले ३० अर्बको कारोबार गर्दा १२ अर्ब रुपैयाँको हाराहारीमा नाफा कमाएको विश्लेषण गर्न सकिन्छ ।

चुरोटका साथै कम्पनीले अन्य एफएमसीजी पनि उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ । अगरबत्ती, सलाइ र ब्रान्डेड प्याकेज गरिएका खाद्य पदार्थको योगदान कम्पनीको कुल सञ्चालन आम्दानीमा न्यून छ । चुरोटको व्यवसायमा प्रतिकुल प्रभाव पारेको अवस्थामा कम्पनी समस्यामा पर्ने देखिन्छ । सायद यही खतरा देखेर होला कम्पनीले पछिल्ला वर्षहरुमा लगानी विविधिकरण गरिरहेको छ ।

सूर्य नेपालले भारतीय लक्जरी होटल आईटीसीको चेनलाई काठमाडौं भित्र्याएको छ । आईटीसीलाई नेपाल ल्याएर ८ अर्ब रुपैयाँ खर्चमा बूढानीलकण्ठमा ७२ रोपनी जग्गामा २१४ कोठाको लक्जरीयस पाँचतारे होटल निर्माण गरिरहेको छ ।

अत्याधिक करका कारण चुरोटको व्यवसायबाट आगामी दिनमा अत्यन्तै कम मात्रै नाफा हुने देखिन्छ । पछिल्ला केही वर्षहरूमा, चुरोटमा करको बोझ सबै क्षेत्रहरूमा दोब्बरभन्दा बढी र ३ गुणा बढी भएको छ। थोपरिएको करका कारण धुम्रपान गर्नेहरु कम मूल्यका खैनी, गुट्खा जस्ता सुर्तीजन्य पदार्थको सेवनतर्फ सिफ्ट भइरहेको तथ्यांकले देखाउँछ । हाल न्युनतम ५४ देखि अधिकतम ७१ प्रतिशतसम्म कर लाग्दै आएको चुरोटमा कर बढाउँदामात्रै राजस्व नबढ्ने भएकोले अवैध आयात नियन्त्रण गर्नु पर्ने उद्योगीहरु बताउँछन् ।

नेपालमा सूर्ति खपत चुरोटभन्दा ४० प्रतिशत बढी रहेको छ । हाल नेपालमा खपत हुने सूर्तिमध्ये ३० प्रतिशत चुरोटमा र बाँकी ७० प्रतिशत धुँवारहित सूर्तिजन्य पदार्थ (पान, खैनी, गुट्खासहित)मा हुने गरेको छ ।

उपभोगको हिसाबमा अन्य सूर्तिजन्य पदार्थको हिस्सा धेरै भए पनि सूर्तिजन्य पदार्थबाट संकलन हुने करको अधिकांश हिस्सा भने चुरोटबाट नै संकलन भएको देखिन्छ । विकसित मुलुकहरु विषेश गरेर पश्चिमी मुलुकहरुमा सूर्तिजन्य पदार्थको उपभोग चुरोटको रुपमा मात्र रहेको देखिन्छ । अन्य सूर्तजन्य पदार्थ नगन्य मात्रामा हुन्छन् ।

नेपाली उद्योगीका अनुसार विगत ६/७ वर्षदेखि चुरोटको उपभोग भने घटिरहेको छ भने सूर्तिजन्य पदार्थको बढेको छ । कुल सूर्ति उपभोगमा अन्य सूर्तिजन्य पदार्थको उपभोगको हिस्सा उल्लेख्य रहेकोले चुरोटमा बढाउँदा सूर्तिजन्य पदार्थको उपभोग बढेको हो । र, सूर्तीजन्य पदार्थ (खैन, खुट्खा) पनि भारतबाट ठूलो परिमाणमा अबैधरुपमा भित्रिरहेको छ ।

सरकारले तस्करी नियन्त्रण गर्न नसकी आन्तरिक उत्पादनमा कर थोपरेको थोपर्यै गर्दा सूर्य नेपाल जस्ता उद्योगले संकटको सामना गरिरहनु परेको छ ।

सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन अन्तर्गत जारी गरिएको कडा निर्देशन पनि तस्करी मौलाउनुका कारणहरुमध्येको एक भएको उद्योगीहरु बताउँछन् । जसले उद्योगीको अर्बौं लगानी संकटतर्फ धकेलिँदा सरकारले अर्बौं राजस्व पनि गुमाएको छ ।

नेपालमा हाल वार्षिक १४ अर्ब ७० करोड खिल्ली चुरोटको खपत हुने तथ्यांक नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययनमा उल्लेख छ । प्रतिष्ठानले ‘नेपालमा चुरोट प्रयोगको सामाजिक–आर्थिक पक्षको विषयमा गरेको एक सर्वेक्षण’मार्फत वार्षिक चुरोट खपत बढ्दै गएकोले घटाउने कर बढाउनुपर्ने तर्क गरेको छ ।

प्रतिष्ठानले अहिले भएको करको दरमा अझै बढाउँदा चुरोट महंगो हुने र उपभोग दर घट्ने दाबी गरेको छ । प्रतिष्ठानले तयार पारेको प्रतिवेदनमार्फत् सरकारसँग चुरोट प्रयोगमा कडाइ गर्नुपर्ने र राजस्वसमेत बढाउने गरी सरकारी नीति आउनुपर्ने पनि उल्लेख छ ।

नेपालमा सञ्चालित उद्योगले उत्पादन गरेको चुरोट र अन्तःशुल्कको आधिकारिक तथ्यांकअनुसार भने नेपालमा वार्षिक १० अर्ब खिल्ली चुरोट खपत हुन्छ । नेपालका उद्योगले मात्रै उत्पादन गरेको र विकास अनुसन्धान प्रतिष्ठानको तथ्यांकलाई तुलना गरेर हेर्ने हो भने वार्षिक ४ अर्ब खिल्ली चुरोटको प्रयोग अवैध भइरहेको छ । यो भनेको हाल संकलन भएको राजस्वको झण्डै आधा हिस्सा अवैध प्रयोगका कारण गुमिरहेको छ ।

चुरोटको बिक्रीबाट मात्रै सरकारले आर्थिक वर्ष २०७९/८० मात्रै २६ अर्ब २२ करोड रुपैयाँ अन्तःशुल्क मात्रै संकलन गरेको आन्तरिक राजस्व विभागको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु