शेख हसिना भागेको असर: नेपाल-बंगलादेश व्यापारमा अवरोध

नेपालबाट मुसुरो, जडिबुटी लगायत निर्यात हुँदा कपडा, औषधि आयात



विराटनगर । बंगलादेशमा भएको राजनीतिक संकटले नेपालको वैदेशिक ब्यापारमा धक्का पुगेको छ । सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको बिरोधमा सात महिनादेखि विद्यार्थीले चर्काएको आन्दोलले उग्ररुप लिएपछि बंगलादेशमा राजनीतिक संकट उत्पन्न भयो ।

सोमबार शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छाडेर भाग्नु पर्ने अवस्था बनेको छ ।

नेपाल र बंगलादेशबीच वार्षिक करिब ५ अर्ब रुपैयाँको वैदेशिक व्यापार हुने गरेको छ ।

तर, बंगलादेशमा राजनीतिक संकट चुलिएसँगै दुई देशबीचको व्यापार यतिबेला ठप्प भएको हो । निर्यातका सामग्री बोकेका १४ ट्रक काँकरभिट्टामा र आयात सामग्री बोकेका ५ ट्रक बंगलादेशको बंगलाबन्ध नाकामा रोकिएको मेची भन्सार कार्यालयले जानकारी दिएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भूटानको त्रिदेशिय नाका फुलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बंगलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बंगलादेशतर्फ नै रोकिएका छन् ।

नेपालबाट खासगरी मदिराको कच्चा पदार्थ मोलासिस, मुसुरो, जडिबुटी, खयर, भ्याक्सिन र उपचारका सामग्री बंगलादेश निकासी हुने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार बंगलादेशबाट खासगरी कृषिमा आधारित उद्योगकालागि कच्चा पदार्थसहित प्लाष्टिकका सामग्री, औषधी, रेडिमेड कपडा, जुस र चकलेटलगायतका आयात हुने गरेको छ।

बंगलादेशसँगको आयात निर्यात ठप्प हुँदा सुनसरी मोरङ औद्योगिक कोरीडोरका कृषिमा आधारित उद्योग प्रभावित भएका छन्। ‘बंगलादेशमा देखिएको राजनीतिक संकटले नेपालसँगको व्यापार प्रभावित भएको छ,’ अध्यक्ष राउतले भने, ‘ विशेषगरी जुट उद्योग बढी प्रभावित भएका छन् ।’

यहाँ सञ्चालित आधा दर्जनबढी जुट उद्योगका लागि बंगलादेश र भारतबाट कच्चा जुट आयात हुँदै आएको छ ।

बंगलादेशसँग ठूलो आकारमा कारोबार नभए पनि आयात र निर्यातका लागि तयारी अवस्थामा रहेका ट्रक नाकामा रोकिनुले व्यवसायीलाई आर्थिक क्षति पुर्‍याएको छ । उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले लामो समयसम्म अवरोध कायम रहे कृषिमा आधारित उद्योग बढी प्रभावित हुने बताए ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार नेपालबाट मदिराको कच्चा पदार्थ मोलासिससहित अन्य सामग्री बोकेर बंगलादेश निकासी हुन तयारी अवस्थामा रहेका ११ ट्रक मेची भन्सार यार्डमा र ३ ट्रक बंगलाबन्ध नाकामा रोकिएका छन् ।

त्यसैगरी बंगलादेशबाट नेपाल आयात हुने टिस्यु पेपर बोकेका ५ वटा गाडी पनि बंगलाबन्ध नाकामा रोकिएको कँडेलले जानकारी दिए । उनकाअनुसार बंगलादेशमा आन्दोलन सुरु भएपछि बंगलादेशसँगको कारोबार ठप्प हुँदै आएको छ । बीचमा ८/१० गाडी आउने जाने गरेको भए पनि साउन १८ गतेदेखि ठप्प भएको उनले बताए ।

कस्तो छ नेपाल बंगलादेश व्यापार ?

नेपालको पूर्वी नाकाबाट गत आर्थिक वर्षमा बंगलादेश‍बाट ४ अर्ब २२ करोड ५६ लाख तथा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४ करोड ५९ लाख मूल्यका कच्चा जुट, सर्जिकल उपचार सामग्री, ब्याट्रीमा प्रयोग गरिने लिड एसिड, मस्यौराको कच्चा सामग्री भटमासको पिना, ट्वाइलेट पेपर, औषधी र जुसलगायतका सामग्री आयात गरेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार, नेपालबाट गत आर्थिक वर्ष ५५ करोड ४७ लाख र अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ५७ करोड ४० लाख मूल्यका मुसुरो दाल, मोलासिस, भ्याक्सिन, उपचार सामग्री, जडीबुटी, खयर लगायतका कृषि सामाग्री निकासी भएको छ ।

वैदेशिक व्यापार बाहेक नेपालका विद्यार्थीहरु मेडिकल शिक्षा अध्ययनका लागि बंगलादेश पुग्ने गरेका छन् । बंगलादेशमा ३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन् । तीमध्ये २४ सय मेडिकल साइन्स र बाँकी अन्य विषय पढ्न पुगेका नेपाली राजदूतावास ढाकाले जनाएको छ ।

बंगलादेशमा राजनीतिक संकट चुलिएपछि ८०० भन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् भने बाँकीले आफूहरुलाई बंगलादेशबाट स्वदेश फिर्ताको वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरेका छन् ।


विनोद भण्डारी