मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी भारत प्रस्थान गरेका हुन् । सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ ।

सम्मेलनका क्रममा नेपालका तर्फबाट बिम्स्टेकबाट नेपालको व्यापार व्यवसाय प्रवद्र्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसिसाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि, नेपालको स्तरोन्नति पश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली वस्तु निर्यातका लागि बजार वृद्धि हुने, क्षेत्रीय मूल्य श्रृंखलामा आबद्धता अभिवृद्धि हुनसक्ने, व्यापार सहजीकरण भन्सार सहयोग र व्यापार तथा ‘लजिष्टिक्स’ लागत न्यूनीकरण हुनसक्ने, क्षेत्रीय लगानी आप्रवाह बढ्न सक्ने, पर्यटन आप्रवाहमा वृद्धि हुनसक्ने, सूचना प्रविधि सेवा लगायतका सेवा निर्यात अभिवृद्धि हुनसक्ने नेपालका तर्फबाट अपेक्षा गरिएको छ ।


क्लिकमान्डु