बंगलादेशमा अब अर्थतन्त्र उकास्‍ने चिन्ता

नोबेल पुरस्कार विजेतासमेत रहेका अर्थशास्त्री युनुस अन्तरिम सरकार प्रमुख



एजेन्सी । बंगलादेशमा राजनीतिक परिवर्तनसँगै अब अर्थतन्त्रलाई बलियो बनाउने विषयमा सम्बन्धित व्यक्ति वा संस्थाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

पछिल्लो दशकदेखि नै आर्थिक मन्दीको सामना गरिरहेको बंगलादेशमा अर्थतन्त्र उकास्नका लागि अब समय बाँकी नरहेको भन्दै अर्थविदहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिँदै देश छाडेर भागेपछि अन्तरिम सरकार गठन भएको छ । नोवेल पुरस्कार विजेता समेत रहेका अर्थशास्त्री एवं प्राध्यापक मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गरेका छन् । संकटका बीच अर्थशास्त्रीहरुले अन्तरिम सरकारले अर्थतन्त्रका चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

बंगलादेशले पछिल्लो समय उच्च मुद्रास्फीति, कमजोर विदेशी मुद्राको संचिति, डिफल्ट लोनको उच्च दबाब, कमजोर बैंकिङ प्रणाली र समग्रमा भ्रष्टाचार जस्ता समस्याको सामना गरिरहेको छ ।

तर यी गम्भीर समस्यालाई थाती राख्दै शेख हसिनाले देश छाडेकी छन्। यो चुनौतीका बीच अब नयाँ सरकारलाई अर्थव्यवस्थालाई पुनर्जीवन दिनुपर्ने बाध्यता छ । तर यसका लागि अन्तरिम सरकारले केही कदम चाल्नुपर्ने छ ।

मोहम्मद युनुस

देशको अर्थव्यवस्था उकास्नका लागि धेरै समय भने नभएको भन्दै अर्थशास्त्रीहरुले चिन्ता व्यक्त गरिरहेका छन् । विश्व बैंकको ढाका कार्यालयस्थित पूर्वअर्थशास्त्री जाहिद हुसेनले अर्थतन्त्र पहिलेदेखि नै संकटमा रहँदै आएकोमा अहिले राजनीतिक उतारचढाव देखिए पनि अबको प्राथमिकता अर्थतन्त्र नै हुनुपर्ने बताएका छन् ।

विद्यार्थीहरुको आरक्षण खारेजीको मागसँगै अब देशमा सामाजिक समानता, न्याय र लोकतन्त्रसँगै अर्थतन्त्रको गतिविधिलाई सामान्य अवस्थामा फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ ।

यस्तै अब देशमा चलिरहेका परियोजनाहरु पुन सञ्चालन गर्नुपर्ने अर्थशास्त्रीहरुको धारणा छ । ढाकाको मेट्रो रेल, एक्सप्रेसवेसँगै रेलवे लगायतका परियोजना थाती रहेका छन् । ती परियोजनालाई अब तीब्र रुपमा सुचारु गर्नुपर्ने अर्थशास्त्री हुसेनले बताए । साथै अवरुद्ध भएको वितरण प्रणालीलाई पनि सुचारु गर्नुपर्ने उनको माग छ ।

यस्तै बजेट सुधार पनि आवश्यक रहेको बताइएको छ । अन्तरिम सरकारले यस्ता विषयमा निरीक्षण गर्दै आवश्यक ठाउँमा खर्च गर्नुपर्ने हुसेनले बताएका छन् । यस्तै विदेशी विनिमय पारदर्शी बनाउनुपर्ने तथा विदेशी बजारको अवरोध खुलाउनुपर्ने अन्तरिम सरकारको चुनौतीको रुपमा देखिएको छ ।

बंगलादेशको नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी निर्देशक असान एच मन्सुरका अनुसार यदि राजनीतिक व्यवस्था पर्याप्त नहुँदा अर्थव्यवस्था पनि राम्रो हुन सक्दैन । यसैले पनि समावेशी तथा लोकतान्त्रिक राजनीतिक व्यवस्था आवश्यक रहेको मन्सुरले बताएका छन् । लोकतन्त्र र जवाफदेहिताको सुनिश्चितता गर्नुपर्ने मन्सुर बताउँछन् ।

मन्सुरका अनुसार देशले हाल संरचनागत समस्यासहित थुप्रै अल्पकालीन चुनौतीहरुको सामना गरिरहेको छ । यस्तै अत्यधिक मुद्रास्फीतिका कारण बंगलादेशमा नागरिकहरुले न्युन आयको सामना गर्नुपरेको बताइन्छ । जवकि २०२३/२४ मा वार्षिक मुद्रास्फीति दर ९.७३ प्रतिशत पुगेको छ । जुन मुद्रास्फीति दर पछिल्लो १२ वर्षयताकै उच्च हो । र बंगलादेश तथ्यांक विभागको तथ्यांक अनुसार २०२३ को मार्चदेखि मुद्रास्फीति दर ९ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

साथै अर्थतन्त्रमा संरचनागत समस्या समाधानका लागि ठोस कदम चाल्नुपर्ने अर्थशास्त्रीहरुको सुझाव छ । ठोस कदम नचालिएसम्म अर्थतन्त्रमा देखिएको समस्याको वास्तविक उपचार सम्भव नभएको उनीहरुको राय छ । यसैबीच सेयर बजार, बन्ड मार्केट र बिमा उद्योगको पनि छुट्टै समिति बनाएर अध्ययन गर्नुपर्ने उनीहरुको भनाइ छ ।

यस्तै आर्थिक सहायता, स्थानीय सरकारको सशस्त्रीकरण पनि आवश्यक रहेको बताइएको छ । जसले अर्थतन्त्र र विकासको विकेन्द्रिकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबीच, नीति संवाद केन्द्रकी कार्यकारी निर्देशक फमिदा खातुनले अर्थतन्त्रमा आमूल पुनर्संरचना आवश्यक रहेको औंल्याएकी छन् । जुन विषय राजनीतिक इच्छाशक्तिको कमीले गर्दा हालसम्म कमजोर हुँदै आएको उनको तर्क छ ।

त्यसो त पछिल्लो दशकमा विशेषगरी शेख हसिनाको कार्यकालमा खराब राजनीतिका कारण लोकतन्त्र पनि खतरामा पर्दै आएको धेरैको बुझाइ छ । यसवाहेक बंगलादेश बैंक, राष्ट्रिय राजस्व बोर्ड र बंगलादेश सुरक्षा तथा विनिमय आयोग जस्ता वित्तीय संस्थाहरु पनि सुशासनको अभावमा कमजोर बन्दै आएका छन् ।

यसबीचमा भ्रष्टाचारको नियन्त्रण नहुनुले पनि अर्थतन्त्रलाई थप कमजोर बनाउँदै गरेको छ । बेरोजगारी समस्या चरम रुपमा बढिरहेको छ । पछिल्लो एक महिना लामो आन्दोलन देशव्यापी बन्नुको एक प्रमुख कारण पनि बेरोजगारी समस्या नै थियो । यस्तो अवस्थामा बंगलादेशमा अन्तरिम सरकारले यस्ता चुनौतीलाई कसरी समाधान गर्नेछ भनेर धेरैले आतुर भएर चासो राखिरहेका छन् ।


क्लिकमान्डु