बक्यौता नउठेपछि प्राधिकरण आक्रामक, २१ दिनमा २१ हजारको लाइन काट्यो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महसुल बक्यौता रहेका ग्राहकको बिजुलीको लाइन धमाधम काटिरहेको छ । प्राधिकरणले दैनिक १ हजार ग्राहकको लाइन काट्न थालेको हो ।

प्राधिकरणले भदौ ५ गतेदेखि ३१ गतेसम्म २१ हजार ३ जना ग्राहकको लाइन काटेको छ । सबैभन्दा धेरै मधेश प्रदेशमा लाइन काटेको छ । मधेश प्रदेश, प्रादेशिक कार्यालय जनकपुरले ४ हजार ६ सय ३४ ग्राहकको लाइन काटेको छ । मधशे प्रदेशमा १३ करोड ६१ लाख रुपैयाँ बक्यौता छ ।

कोसी प्रदेश, प्रादेशिक कार्यालय विराटनगरले ४ हजार ५६ वटा लाइन काटेको छ । जसको कुल बक्यौता ६ करोड ५२ लाख ९ हजार रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय काठमाडौंले ९ सय ३७ वटा जसको बक्यौता ३ करोड २९ लाख रुपैयाँ बक्यौता छ । बागमती प्रदेश,प्रदेश डिभिजन कार्यालय हेटौंडा १ हजार ४ सय २६ ग्राहकको लाइन काटेको छ । ३ करोड ४३ लाख रुपैयाँ बक्यौता छ ।

गण्डकी प्रादेशिक कार्यालय, पोखराले २ हजार ३ सय ७५ ग्राहकको लाइन काटेको छ । जसको कुल बक्यौता २ करोड ९ ० लाख रुपैयाँ बक्यौता छ ।

लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले २ हजार ९ सय ७२ ग्राहकको लाइक काटेको छ । जसको बक्यौता ५ करोड ८९ लाख रुपैयाँ छ । लुम्बिनी प्रदेश, प्रदेश डिभिजन कार्यालय, नेपालगञ्जले २ हजार ४०६ ग्राहकको लाइन काटेको छ । ३ करोड ५ लाख बक्यौता रहेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

कर्णाली प्रादेशिक कार्यायल सुर्खेतले १ हजार ७ सय ९९ ग्राहकको लाइन काटेको छ । सुदुरपश्चिम प्रादेशिक कार्यालय,अत्तरियाले ३ सय ९८  ग्राहकको लाइन काटेको छ । जसको ७१ लाख ७९ हजार रुपैयाँ बक्यौता छ ।

प्राधिकरणका अनुसार ४० करोड ४२ लाख बक्यौता रहेका ग्राहकहरुको लाइन काटिएको हो । यो बीचमा प्राधिकरणले १५ हजार २२३ वटा लाइन जोडेको छ । जसबाट २४ करोड ७ लाख रुपैयाँ बक्यौता उठाएको छ ।

नेपाल विद्युत प्राधिकरणको दरबारमार्गस्थित केन्द्रिय कार्यालय ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल लाइन नकाटी बक्यौता नै नउठ्ने भएपछि आफूहरु बाध्य भएको बताउँछन् । लाइन काटेपछि मात्रै बक्यौता उठ्ने गरेको उनी बताउँछन् । उनले यो वर्ष १ लाखभन्दा बढी ग्राहकको लाइन काटिने बताए ।

प्राधिकरणको विद्युत महसुल संकलन विनियमावली, २०७८मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्यत् महसुल नुबझाएमा बिना सूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था छ ।

मिटर रिडिङ भएको १६औं दिनसम्म महसुल नतिरेमा थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

मिटर रिडिङ भएको मितिले ४० औं दिनसम्म पनि विद्युत महशुल नबुझाउने उपभोक्तालाई ४१ औं दिनदेखि बिलको २५ प्रतिशतकाका दरले थप दस्तुर लाग्ने व्यवस्था रहेको छ । यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महशुल नबुझाउने उपभोक्ताको विद्युत लाइन जुन सुकै बेला काट्न सकिने प्रावधान छ ।

प्राधिकरणको पछिल्लो समय बक्यौता बढ्दो छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको २१ अर्ब २४ करोड रुपैयाँ बक्यौतामध्ये ६ अर्ब ६० करोड रुपैयाँ उठाउने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन । तर उद्योगीहरुले भने प्राधिकरणले फर्जी बिल काटेको दाबी गर्दै आएका छन् । स्थानीय तहहरुले ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता तिरेका छैनन् ।


क्लिकमान्डु