नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा



काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई करिब ९ अर्ब रुपैयाँ (५० करोड चिनियाँ युआन) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सीबीच भएको भेटको क्रममा राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् ।

भेटको क्रममा राष्ट्रपति सीले नेपालमा उत्पादित वस्तुहरु चीनमा निर्यात गर्नका लागि प्रोत्साहन गर्ने पनि आश्वासन दिएका थिए । ‘नेपाल र चीनबीचको सम्बन्ध सद्भाव, सम्मान र सहयोगमा आधारित छ । नेपालको विकास र समृद्धिमा चीनको सधैं साथ रहन्छ,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै नेपाल सरकार परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

भेटको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पनि दिएका थिए । सीले भने उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिक्रिया दिएका थिए ।

अब सी नेपाल आए उनको दोस्रो नेपाल भ्रमण हुनेछ । यसअघि २०७६ सालमा केपी ओली नै प्रधानमन्त्री हुँदा चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आएका थिए ।


क्लिकमान्डु