कृत्रिम रुपमा सेयर बढेको देखाएर ठगी गर्ने कम्पनीहरुमाथि कारबाही होस्: सांसद सिंह



काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बिना आधार सेयर बजार उकालो लागेको देखाएर आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारले एउटा समिति गठन गर्नुपर्ने उनको भनाइ थियो ।

स्वतन्त्र सांसद सिंहले आम जनतालाई गुमराहमा राख्ने कुनै पनि सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि नियमनकारी निकायहरुले पनि कडा निगरानी राख्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘म नेपाल सरकार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु– गरिब जनतामाथि ठगी गरेर सेयर बजारमा कृत्रिम ढंगले अघि बढाएर आम जनतालाई ठग्ने काम बन्द होस् । सरकारले यसलाई रेगुलेट गरोस् ।’

यसबारे छानबिन समिति बनाएर कृत्रिम ढंगले सेयर कारोबार गर्ने कम्पनीहरुमाथि छानबिन गर्नुपर्ने उनको भनाइ थियो । सेयर वृद्धि देखाएर केही कम्पनीले जनतालाई गुमराहमा पार्ने काम गरिरहेकाले त्यस्ता कम्पनीमाथि कारबाही गर्नुपर्ने उनले बताएका हुन् ।

‘तिनीहरुलाई कारबाहीको लागि छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दछु,’ सांसद सिंहले भने । सेयर बजारमा कृत्रिम ढंगले काम गर्ने कुनै पनि कम्पनीलाई सरकारले कारबाहीको दायरामा तत्काल ल्याउनुपर्ने सांसद सिंहले बताएका थिए ।


क्लिकमान्डु