सहकारीको नाममा मानव तस्करी: सदस्य मुछिएपछि जिल्ला संघ तनाबमा, यस्तो छ लामासँगको कनेक्सन



काठमाडौं । जिल्ला सहकारी संघ काठमाडौंले आफ्नो लेटरप्याड र छाप किर्ते गरेर मानव तस्करी भएको दाबी गरेको छ ।

जिल्ला संघको लेटरप्याड दुरुपयोग गरेर २० वटा सहकारीको नाममा २० जना जापान पठाएको सूचीमा संघका सञ्चालक र सदस्य संस्थाको नाम जोडेपछि थप तनाब भएको संघले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले मानव तस्करीमा आफ्नो लेटर प्याड र छाप किर्ते गरेको तथा २० वटा संस्थामध्ये केही संस्था जिल्ला संघको सदस्य र केही जिल्ला संघको सञ्चालक भएका कारण संघ समस्यामा परेको जनाएको हो ।

सन् २०२४ जुलाई १३ मा जापानमा ‘नेपालको सहकारीको वर्तमान समस्याका बारेका छलफल र गैरआवासीय संघ जापानसँग नेपालमा लगानी गर्न कसरी सहयोग लिने?’ भन्ने कार्यक्रममा जिल्ला संघको सिफारिसमा २० वटा सहकारीबाट २० जना व्यक्ति जापान पठाइएको थियो । २० जना पठाउने सहकारीमा नेचुरल बचत तथा ऋण सहकारी र तिर्थ बचत तथा ऋण सहकारी सहकारीको समेत नाम उल्लेख भएको छ ।

नेचुरल सहकारीका प्रतिनिधि जिल्ला संघमा सञ्चालक रहेको र तिर्थ बचत तथा ऋण सहकारी संस्था जिल्ला संघमा सदस्य रहेको छ ।

‘२० वटाको लिस्टमा जिल्ला संघमा भएका केही सहकारीको पनि नाम देखिएको छ’ जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष सुमन केसीले भने, ‘जिल्ला संघको लेटरप्याड र छाप दुरुपयोग गर्नेले संस्थाको नाम पनि जोडेको पाइयो । संस्थाको नाम दुरुपयोग भए पनि त्यहाँ उल्लेख भएको नामका व्यक्तिलाई संस्थाले चिनेको छैन । कसैलाई कुनै देश जान पनि सिफारिस गरेको छैन ।’

विदेश जान जिल्ला संघ र प्रारम्भिक संस्थाले कसैलाई पनि सिफारिस नगरेको उनको दाबी छ ।

मानव तस्करीमा संलग्नहरुले प्रतिव्यक्ति १२ देखि १८ लाख रुपैयाँ लिएको भन्ने गुनासो सुन्नमा आएको उनको भनाइ छ ।

अहिले मानव बेचबिखन अनुसन्धान ब्युरोले उक्त कार्यक्रमको इभेन्ट डाइरेक्टर काभ्रेपलान्चोकस्थित पाँचखाल नगरपालिकाका समिर लामालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सोमबार मध्याह्न ३ बजे नेपाल एयरलाइन्सको फ्लाइटमार्फत जापानबाट नेपाल आएका लामालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्यूरोले पक्राउ गरेको थियो । उक्त प्रकरणमा पक्राउ गरेका समिर लामा तामाङ र जिल्ला संघको सम्बन्ध धेरै पुरानो देखिएको छ । जिल्ला संघमा ५ वर्षअघि नै उनको कनेक्सन रहेको पाइएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण सुरु हुनुभन्दा केही समयअघि जिल्ला संघले ‘कोप–कप’ आयोजना गर्न खोजेको थियो । तत्कालीन समयमा गर्न खोजेको ‘कोप–कप’ कोरोना कारण हुन नसकेको अध्यक्ष केसीले बताए । ‘त्यो बेला ‘कोप–कप’ गर्ने भनेर रिपोटर्स क्लबमा नै पत्रकार सम्मेलन गरेका थियौं’ उनले भने, ‘त्यो बेला कोरोना कारण सम्भव भएको थिएन ।’

त्यो समयमा ज्ञानबहादुर तामाङ काठमाडौंका अध्यक्ष रहेका थिए ।

तत्कालीन समयमा अहिले पक्राउ परेका लामा ‘कोप–कप’ गर्ने भनेर जिल्ला संघमा पुगेका थिए । ‘कोप–कप’ गर्न लामाले कालाकारसँग समन्वय गरेर जिल्ला संघसँग मिलेर मैत्रीपूर्ण खेल खेलाउन खोजेका थिए ।

कोरोनाका कारण खेल रोकिएको थियो । त्यसपछि लामासँग संघको कुनै पनि सहकार्य भएको आफूलाई जानकारी नभएको अध्यक्ष केसीले दाबी गरे ।

‘यो घटना आएपछि मैले पूर्वअध्यक्ष, वर्तमान सञ्चालक, पूर्वसञ्चालकहरुसँग सम्पर्क गरे’ उनले भने, ‘यो घटनामा तपाईंहरु कोही कसैको जानेर वा अन्जानका केही संलग्नता छ की भनेर बुझ्दा कसैले पनि छैन भन्नु भएको छ ।’ कसैलाई पनि जानकारी नहुँदा नहुँदै हाम्रो लेटर प्याड र छाप कसरी किर्ते भयो आफूहरु अन्यौलमा परेको उनको भनाइ छ ।

जिल्ला संघका अध्यक्ष केसी यूएम सेभिङ एण्ड क्रेडिट को अपरेटिभका उपाध्यक्ष प्रेम कुमार आलेलाई पक्राउ गर्न सकेको खण्डमा सबै विषय बाहिर आउने बताउँछन् । आले अहिले जापानमा लुकेर बसेको बुझिएको उनले बताए । आले जापानमा हुने कार्यक्रमको प्रोग्राम डाइरेक्टर थिए ।

अध्यक्ष केसीले जिल्ला संघका पदाधिकारी, निवर्तमान पदाधिकारी कोही पनि यो प्रकरणमा संलग्न भए पनि कानुनी कारबाहीमा पर्नुपर्ने बताए । उनले जिल्ला संघका कोही पूर्वपदाधिकारी यसमा जोडिएका छन् भने अनुसन्धान गरेर कारबाही गर्न माग गरेका छन् ।


क्लिकमान्डु