कुलमानको विषयमा लेखा समिति बैठकमा सभापति र माओवादी सांसदबीच चर्काचर्की (भिडियो)
काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिमा विवाद भएकोछ । डेडिकेटेड ट्रंकलाइन विवादका विषयमा छलफल गर्न बसेको समितिको बैठकमा सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद अमनलाल मोदीबीच चर्काचर्की परेको हो ।
डेडिकेटेड ट्रंकलाइन विवादमा उद्योगीबाट ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता उठाउनु् पर्ने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बैठकमा बताएका थिए ।
उद्योगीहरुले भने प्रमाण दिए बक्यौता तिर्न तयार रहेको बताएका थिए । प्राधिकरणले हचुवाको भरमा बिल पठाएको उनीहरुको आरोप छ । घिसिङले भने प्राधिकरणले पठाएको बिलमा चित्त नबुझे पुनरावेदन,अदालत जान चुनौती दिएका थिए ।
समितिको बैठकमा समितिका सदस्यहरु, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङसहित उद्योगी, विद्युत नियमन आयोग,महालेखा,ऊर्जा मन्त्रालयका सचिव, सिँचाई सचिव लगायत उपस्थित थिए ।
सभापतिले बैठकको निर्णय सुनाउनुअघि सभापति ऋषिकेश पोखरेल र माओवादी सांसद मोदीबीच चर्काचर्की परेको हो ।
मोदी: प्राधिकरणको कुरामा विमत्ति राख्न पर्ने उद्योगीपतिको पक्षमा जस्तो देखियो नि!
सभापति: त्यसरी मिसप्लेस नगर्नू । भाषालाई मिसप्लेस नगर्नु
मोदी: पहिलेको समितिले गरेको काम गरे भै गयो नि । किन नगर्ने ?
सभापति: गलत कुरा नगर्नू
मोदी: कहाँ गलत कुरा हो ? पहिलाको समितिको कुरा कार्यान्वयन गरौं न
सभापति: तपाईंले भनेको के हो ?
मोदी: मैले भनिसके उद्योगपतिबाट बक्यौता उठाउनु पर्छ । पहिलेको लाल आयोगले भनिसकेपछि विभिन्न आयोगले निर्णय गरिसकेको छ । त्यसलाई तोडमोड गर्नुपर्छ ?
सभापति: तपाईं किन डराउनु भएको ?
मोदी: हामी किन डराउनु ? पैसा उठ्नु पर्दै ?
सभापति: सुन्नुस् तपाईं गलत व्याख्या नगर्नू । १५ अर्ब छुट दिने तपाईंहरु हो
मोदी: हामीले हो? मैले हो? तपाईंहरुले हो पटक पटक… सभापतिले मात्र निर्णय गर्ने ?
सभापति: निर्णय तपाईंले गर्ने होइन, तपाईं नडराउनु भएको ?
मोदी: सरकारले ग्रहण गरिसकेको अदालतले गरिसकेको निर्णय तपाईं निक उल्टाउन खोज्नु हुन्छ ?
सभापति: कसले उल्टाउन खोज्यो ? निर्णय गर्न किन किन डराउनु भयो?
मोदी: पहिला भएको निर्णयमा उठाउन भन्ने हो, त्यसलाई तपाईं फेरि निर्णय गर्ने?
उठा भन्ने हो, अहिले नै एउटै शव्द लेखौं न ।
सभापति: तपाईंले भन्ने बित्तिकै लेख्नु पर्ने । तपाईं नआत्तिनु होला, सत्य आउँछ, तपाईं नडराउनु होला ।
त्यसपछि चर्काचर्कीकै बीच सभापति ऋषिकेश पोखरेलले आगामी बैठकले निर्णय गर्ने निर्णय सुनाए ।
सभापति: आगामी बैठकमा पाँच दिनमा विषय वस्तु तयार गर्छौं । र आगामी बैठकमा निर्णय गर्ने गरि बस्छौं ।
बैठकले प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो । सो आधारमा ५ दिनमा प्रतिवेदन तयार पारी अर्को बैठकमा उद्योगी र प्राधिकरणबीच विवाद सुल्झाउने निर्णय गरिनेछ ।