अन्ततः सेयर धितो कर्जामा २० करोडको सीमा खारेज, राष्ट्र बैंकको यस्तो परिपत्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज गरेको छ । मौद्रिक नीतिमार्फत् उद्घोष गरिएको सो व्यवस्था शुक्रबार एक परिपत्र जारी गरी कार्यान्वयन गरिएको छ ।

संस्थागत लगानीकर्ताको हकमा सीमा हटेपनि व्यक्तिगतको हकमा १५ करोडको सीमा यथावत छ ।

‘मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । परिपत्रमा भनिएको छ, ‘तर धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुनेछैन ।’

राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ को नीति ल्याएको थियो । जसलाई १० महिनाअघि १५/२० करोड कायम गरिएको थियो ।

लगानीकर्ताले यो व्यवस्थाले सेयर लगानीकर्तालाई निरुत्साहित गरेको आरोप लगाउँदै आएका थिए ।


क्लिकमान्डु