काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विचाराधीन विधेयकलाई संसद्मा छिटो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा संशोधन कर्ता सदस्यहरुले उठाएका प्रश्नहरुबारे बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल भएको थियो ।
बैठकमा मन्त्री भण्डारीले विधेयकहरु अन्य समितिमा पनि छलफल र संशोधनको क्रम जारी रहेको बताएका थिए । उनले संसदको गत अधिवेशनमा पास गर्नुपर्ने जति कानूनहरु पास हुन नसकेको भन्दै अहिले विशेष ध्यान दिनुपर्ने बताए ।
समिति सदस्यहरुको चासो, सरोकार र प्राथमिकतामा विधेयकहरु पर्नुपर्ने भन्दै सरकारको तर्फबाट पनि संसदलाई बढी भन्दा बढी बिजनेस दिनुपर्ने आवश्यकता रहेको उनले औंल्याएका थिए । कानून निर्माण संविधान कार्यान्वयनका लागि महत्वपूर्ण रहेको भन्दै उनले ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्ने बताए ।
मन्त्री भण्डारीले प्रदेश वा स्थानीय तहमा संघीय संसदका कानूनहरु निर्माण भइसकेपछि मात्रै कानून लागू हुने र संघका आधारमा कानून निर्माण गर्ने हुँदा संघमा छिटो भन्दा छिटो कानून पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
‘विधेयकहरु महत्वपूर्ण छन् । अन्य समितिहरुमा पनि यसैगरी छलफल र संशोधनको क्रम जारी छ । गत संसदको अधिवेशनमा पनि हामीले जति कानूनहरु पास गर्नुपर्ने थियो, त्यो हुन सकेन । यतिखेर अलि बढी माननीयज्युहरुको चासो, सरोकार र अझ सरकारको तर्फबाट पनि बढी संसदलाई बिजनेस दिनुपर्छ । अहिलेका अत्यावश्यक कानूनहरु जो जरुरी छन्, संविधान कार्यान्वयनका लागि पनि अत्यावश्यक छन्, दूरगामी महत्वका ऐनहरु । यतिखेरको ती ऐनबाट संविधानको कार्यान्वयनमा बल पुग्छ,’ मन्त्री भण्डारीले भनेका छन् ।
मन्त्री भण्डारीले समितिमा विधेयकमा सांसदहरुले बढी सहभागिता, उत्सुकता देखाउन जरुरी रहेको बताएका थिए । कानून निर्माणसँगै कानूनका अभावले प्रभावित भएका थुप्रै कामहरुलाई डेलिभरी दिनसक्ने र सरकारलाई प्रभावकारी बनाउन सकिने पनि उनको भनाइ थियो ।
प्रतिक्रिया